रघुजी पन्त कति निच रहेछन्ः कोमल वली

 रघुजी पन्त कति निच रहेछन्ः कोमल वली

१६ फागुन, विराटनगर ।
पिँडुला देखाएको भरमा केपी शर्मा ओलीले सांसद बनाएको नेकपा नेता रघुजी पन्तको अभिव्यक्तिबारे राष्ट्रियसभा सदस्य कोमल वलीले गम्भीर आपत्ति प्रकट गरेकी छिन्।

पन्तले प्रयोग गरेका शब्दहरुले आमा दिदीबहिनी सबैलाई अपमान गरेको वलीले बताएकी छिन्। एक कार्यक्रममा मन्तव्य व्यक्त गरिरहँदा पन्तले कोमल वलीले साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि ओलीले उनलाई केन्द्रीय सदस्य र राष्ट्रिय सभा सदस्य बनाएको टिप्पणी गरेका छन्।

पन्तले यसो भनिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। गायिकासमेत रहेकी वलीले शनिवार साँझ ट्वीटरमार्फत पन्त निच भएको खुलेको आरोप लगाएकी थिइन्।

आइतवार बिहान वलीले फेसबुकमार्फत पनि आपत्ति जनाएकी छिन्। ट्वीटरमा वलीले लेखेकी छिन्, हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल खुलेको छ। वलीले महिलामाथि प्रकट गरिएका दरिद्र सोचको सिकार महिलाहरु हुने गरेको उल्लेख गर्दै प्रश्नसमेत गरेकी छन्।

उनले भनेकी छिन्, पंतजीलाई मेरो प्रश्न, तपाईको पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नुभएको हो ? के यो देशमा महिला कुनै पदमा पुग्न तपाईको जस्तो दरिद्र सोचको सिकार हुनुपर्छ ?
फेसबुकमार्फत उनले एकअर्काको सम्मान गर्न नसिक्ने नेतृत्वले समाजलाई दुर्घटनातिर लैजाने बताएकी छन्। पूर्वीया दर्शनदेखि मानव विकासमा महिलाको उच्च सम्मान समाजको कसिमा उत्तीर्ण भएर भएको छ।

प्रकृतिले नै महिला र पुरुषको समायोजन गरेको हो। एकअर्काको आदर सम्मान विना समाजमा न्याय समानता र विवेकशीलताको अन्त हुन्छ। समाज हिंसा तिर जान्छ र दया करुणा जस्ता कुरा हराउँछन्, उनले थप भनेकी छिन्, तसर्थ एकले अर्कालाइ सम्मान गर्नु जीवनलाई मर्यादित र सरल बनाउनु हो।

तर नेकपाका नेता रघु पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पिंडुला देखाएर भन्ने जुन अभिव्यक्ति दिनुभएको छ वहाँको मानव बिकासका क्रममा बन्ने तन्तुहरु विचैमा रोकिएको जस्तो छ।

वहाँले प्रयोग गर्ने शव्दहरुले आफ्नो आमा दिदीबहिनी सबैलाई अपमान गरेको छ। विवेक हिन मानिसको आलोचनाले आफैलाई आलोचित गर्दछ यस्ता व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको दुर्घटना कति टाढा होला ?

अहिले वलीमाथि पन्तको भनाईलाई लिएर सामाजिक सञ्जालमा बहस छेडिएको छ।

वलीबारे यसो भनेका थिए पन्तले–

एक कार्यक्रममा नेता पन्तले नेकपामा कैयौं वर्ष संघर्ष र बलिदान दिएका महिलाहरु हुँदा पनि तिनले कुनै पद नपाएको तर कोमल वलीले भने तुरुन्तै पद पाएको बताएका थिए।

महिलाहरु अहिले केपीतिर पनि लागेका छन्। २० औं वर्ष बिहा नै नगरेर यो पार्टीमा बसेका महिलाहरु छन्। तर तिनले टिकट पनि पाएनन्। तिनले राष्ट्रिय सभा पनि पाएनन्।

वलीले भने सारी सरक्क सर्काएर गोरा पिडुंला देखाएको भरमा सांसद पाएको पन्तको दाबी भिडियोमा देख्न सकिन्छ। कोमल वलीले यसो सारी सरक्क सर्काएर गोरा पिडुंला देखाउँदै पोइला जान पाम भनेपछि सांसद त दिने नै भयो, पन्तले भनेका छन्, कपाल फुलेर चाउरी पर्‍या बुढाबुढी कमरेडहरु न एकचोटि राष्ट्रिय सभाको सांसद बन्न पाछन् न एकचोटि केन्द्रीय कमिटीको सदस्य हुन पाछन्।

उनी राष्ट्रिय सभाको सदस्य पनि भइन् अहिले केन्द्रीय कमिटीको सदस्य पनि भइन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.