म प्रधानमन्त्री हुने रेसमै छैनः देउवा

म प्रधानमन्त्री हुने रेसमै छैनः देउवा

२२ फागुन, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री हुने चाहना नभएको बताएका छन् ।

शनिबार बूढानीलकण्ठस्थित आफ्नै निवासमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित महाकाण्ड पुस्तकको विमोचन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू प्रधानमन्त्रीको दौडमा नरहेकोसमेत बताएका हुन् ।

म प्रधानमन्त्री हुने रेसमै छैन । म प्रधानमन्त्री हुनै चाहेको छैन, उनले भने, विपक्षी दलको नेता प्राइममिनिस्टर इन वेइटिङ हो । तर मलाई प्रधानमन्त्री हुनु पनि छैन । यी सबै कुरामा नलाग्नु होला ।

यस्तै प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन भएकोले कांग्रेस सडकमा प्रस्तुत नभएको पनि उनले दाबी गरे । उनले भने, प्रतिनिधिसभा विघटनको गैरसंवैधानिक कदमको अदालतमा विचाराधीन मुद्दा भएकोले सडकमा जानु हुँदैन, अदालतलाई प्रेसर गर्न, धम्क्याउन हुँदैन भन्ने हाम्रो मान्यता हो ।

यसकारण भोलि संसदीय व्यवस्था नै चल्दैन । प्रमुख प्रतिपक्ष कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीविरुद्ध दर्ता गरिने अविश्वासको पक्षमा उभिने–नउभिने भन्ने विषयमा तत्काल निर्णय नगर्ने भएको छ ।

नेकपा ओली र दाहाल–नेपाल समूह आइतबारबाट हुने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुन्छन्, त्यहीअनुसार रणनीति तय गर्ने कांग्रेसको योजना छ ।

व्यावहारिक रूपमा नेकपा दुई समूहमा विभाजित भए पनि पार्टी विभाजन औपचारिक रूपमा नभएकाले कांग्रेसले ‘पर्ख र हेर’ को रणनीति अपनाएको हो ।

नेकपाका दुवै समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न आग्रह गरे पनि कांग्रेसका अधिकांश सांसदले अहिले सरकारमा जान नहुने बताएका छन् ।

सभापति देउवलाई नेकपा दाहाल–नेपाललाई सहयोग गरेर आफू सरकारबाहिरै बस्नुपर्ने अधिकांश सांसदले सुझाव दिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.