लैङ्गिक समानताका लागि पुरुषको पनि सक्रिय सहयोग र सहभागिता आवस्यक छः राष्ट्रपति

लैङ्गिक समानताका लागि पुरुषको पनि सक्रिय सहयोग र सहभागिता आवस्यक छः राष्ट्रपति

२४ फागुन, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताएकी छन् ।

१११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपालको संविधानले व्यवस्था गरेनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो महसुस गरेको उल्लेख गरेकी छन् ।

अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीलाई हार्दिक बधाई दिँदै सुख, शान्ति र समृद्धिका लागि राष्ट्रपतिले हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।

संसारभरिका विभिन्न क्षेत्रमा काम गर्ने महिलाहरूले हासिल गरेका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धिलाई स्मरण गर्दै महिला अधिकार तथा लैङ्गिक समानताको पूर्ण प्राप्तिका लागि हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइने गरेको राष्ट्रपतिले स्मरण गरेकी छन् ।

यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ हामी यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेको उल्लेख गरेकी छन् ।

त्यस सङ्कल्पलाई साकार पार्न महिला र पुरुषका बीचमा विद्यमान आर्थिक, सामाजिक तथा सांस्कृतिक विभेद हटाउनेतर्फ व्यक्ति, परिवार, समाज, सङ्घसंस्था तथा राज्यका सबै निकायहरू अग्रसर हुनु आवश्यक रहेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लैङ्गिक समानता प्राप्तिको अभियानमा जनसङ्ख्याको आधा हिस्सा ओगट्ने पुरुषको पनि सक्रिय सहयोग र सहभागिता पनि उत्तिकै जरुरी रहेको राष्ट्रपतिको भनाइ छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.