जनतालाई उल्लु बनाइरहने ? मनपरीतन्त्र चलाउन पाइनँ भनेर नयाँ जनादेश भन्ने ?: रामचन्द्र पौडेल

जनतालाई उल्लु बनाइरहने ? मनपरीतन्त्र चलाउन पाइनँ भनेर नयाँ जनादेश भन्ने ?: रामचन्द्र पौडेल

४ चैत, काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मनपरीतन्त्र चलाउन पाइनँ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ जनादेशका कुरा गरिरहेको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार बोलाएको सर्वदलीय बैठकमा पनि प्रधानमन्त्री ओलीले नयाँ जनादेशको कुरा उठान गर्दा आफूले प्रतिवाद गरेको पौडेल बताउँछन्।

नयाँ जनादेशमा जानुपर्ने प्रधानमन्त्री ओलीको कुरामा राष्ट्रपतिले समेत समर्थन जनाएको पौडेलको भनाइ छ।

‘हिजो मात्रै प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ जनादेशको कुरा गर्नुभयो। मैले त्यहीँ सोधेँ– नयाँ जनादेश आएपछि अहिलेको जस्तो उपद्रो हुँदैन भन्ने के ग्यारेन्टी छ?,’ आज बाँकेमा आयोजित कार्यक्रममा पौडेलले भने।

प्रधानमन्त्री ओलीले संविधानमाथि प्रहार गर्दै व्यवस्था नै फाल्न खोजेको आरोप उनको छ। पार्टीभित्र कुरा नमिल्दा ओलीले प्रतिनिधि सभा विघटन गरेर संविधानमाथि प्रहार गरेको उनको भनाइ थियो।

उनले आफूले सत्ताभन्दा पनि व्यवस्था महत्वपूर्ण भएको बताइरहेको पनि उनले बताए।

‘प्रतिनिधि सभा पुनर्स्थापना भए पनि व्यवस्था अझै संकटमा छ,’ उनले भने।

तिनिधि सभा पुनर्स्थापना भए पनि व्यवस्थामाथि संकट कायमै छ भन्ने उदाहरण बुधबार शितल निवासमा देखिएको उनको भनाइ छ।

‘पुनर्थापना भए पनि व्यवस्थामाथि संकट छ, यसको उदाहरण शितल निवासको अभिव्यक्ति हो। प्रधानमन्त्रीले पनि नयाँ जनादेशको कुरा गर्ने राष्ट्रपतिले समर्थन गर्ने। नयाँ जनादेश आएपछि यस्तो हुँदैन भन्ने जिम्मेवारी लिनुप¥यो नि,’ उनले भने, ‘नयाँ जनादेश भन्ने जनतालाई उल्लु बनाइरहने? मनपरी तन्त्र चलाउन पाइनँ भनेर नयाँ जनादेश भन्ने?’

उनले अहिलेको समस्या नै प्रधानमन्त्री ओली भएकोले उनको सरकार गिराउनुपर्ने बताए। उनले अझै पनि संसदीय प्रणालीमाथि खतरा रहेको उल्लेख गरेका छन्। ७० वर्षसम्म लडेर ल्याएको व्यवस्था बचाउन सचेत रहनुपर्ने उनले बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.