सुनुवाइबिनै ४० वर्षसम्म भारतीय जेलमा बसेका नेपाली थुनामुक्त भए

७ चैत, काठमाडौँ । सुनुवाइबिनै ४० वर्षसम्म भारतीय जेलमा बसेका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) शनिबार थुनामुक्त भएका छन् ।

Advertisement

उनका दाजु प्रकाशचन्द्र तिम्सिनाले कोलकाताको दमदम केन्द्रीय कारागारमा सम्झौता पत्रमा हस्ताक्षर गरेपछि दुर्गाप्रसाद छुटेका हुन् ।

कोलकातास्थित महावाणिज्य दूतावासका निजी सचिव सतिश थापाले तिम्सिना थुनामुक्त भएको अनलाइनखबरलाई बताए । उनले भने, ‘आजै स्थलमार्ग हुँदै उहाँहरु घर फर्किँदै हुनुहुन्छ ।’

Advertisement

उच्च अदालत, कोलकाताका मुख्य न्यायाधीश थोटथिल बी राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको इजलासले बुधबार साँझ उनलाई छाड्न आदेश दिएको थियो ।

अदालतले दुर्गाप्रसादको मानसिक स्वास्थ्यलाई कारण देखाउँदै नजिकका नातेदार प्रकाशचन्द्रको जिम्मा लगाएर छाड्न भनेको थियो । प्रकाश शुक्रबारै कोलकाता पुगे पनि कानुनी प्रक्रिया पूरा नहुँदा शनिबार मात्रै दुर्गाप्रसाद छुटेका हुन् ।

Advertisement

अदालतले प्रत्येक ६÷६ महिनामा दुर्गाप्रसादको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुपर्ने पनि भनेको छ । त्यसो त अदालतले उनी करिब ४१ वर्ष जेल बसिसकेको बताउँदै थप समय कारागारमा राखेर न्यायको कुनै औचित्य पूरा नहुने पनि भनेको थियो ।

दुर्गाप्रसादको पक्षमा उच्च अदालत, कोलकाताका वकिल हिरक सिन्हा, प्रदीप मण्डल, मलाई भट्टाचार्य र सुब्रज्योति घोषले बसह गरेका थिए । उनीहरुले न्यायको पक्षमा भन्दै निःशुल्क बहस गरेका थिए ।

दुर्गाप्रसादका भाइ प्रकाशचन्द्रले आधा जिन्दगी कारागारमा बितिसकेकाले अबका दिनमा के गर्ने अन्यौलता रहेको अनलाइनखबरलाई बताए ।

‘उहाँ छुट्दै गर्दा मलाई खुसी र चिन्ता दुवै लागेको छ,’ उनले भने, ‘खुसी यस अर्थमा कि ४० वर्षपछि उहाँ घर आउँदै हुनुहुन्छ, चिन्ता चाहिँ आधा जिन्दगी उहाँले आकाश देख्न पाउनु भएन, अब कसरी अघि बढ्नु हुन्छ होला भनेर ।’

उनका अनुसार १९ वर्षको हुँदा घरबाट हराएका दुर्गाप्रसादको ब्रतबन्ध पनि भएको छैन । ‘हिन्दु परम्परा अनुसार गर्नुपर्ने कार्यहरु भएका छैनन्, घरमा लगेर गर्नुपर्नेछ’, उनले भने । अदालतले क्षतिपूर्तिबारे पनि बोलिदिएको भए हुने उनको अपेक्षा थियो ।

कानुन व्यवसायीहरुको दाबीअनुसार उनलाई जिम्मा जमानी छाड्न मात्र मागिएकाले अदालत त्यस विषयमा प्रवेश नगरेको हुनसक्छ । यद्यपि, क्षतिपूर्ति माग गर्दै भारतको उच्च अदालतमा मुद्दा हाल्ने ठाउँ छ । त्यस विषयमा क्रमशः छलफल गर्ने परिवारले जनाएको छ ।

कसरी परेका थिए जेल ?

इलामको माई नगरपालिका–१० बाट दुर्गाप्रसाद १९ वर्षको छँदा तोरी बेच्न भन्दै मंगलबारे गएका थिए । त्यहाँबाट आएको पैसा लिएर उनी काम खोज्दै दार्जिलिङ पुगेका थिए । दार्जिलिङमा हत्या आरोपमा पक्राउ परेका उनी विभिन्न जेलमा सारिए, यता परिवारले उनी आन्दोलनमा मारिएको हुनसक्ने आशंका ग¥यो ।

दार्जिलिङमा भएको एक आगलागीमा उनको कागजपत्र पनि जलेको थियो । त्यसपछि विक्षिप्त भएका उनी मानिसक रूपमा कमजोर बन्दै गए ।

सन् १९८२ को जनवरीमा तिम्सिना अदालती ट्रायलका लागि मानसिक रुपमा स्वस्थ नभएको दार्जिलिङ जिल्ला अदालतले भनेको थियो । त्यसपछि जाँचको रिपोर्ट अदालतमा नबुझाइँदा उनले ४० वर्षसम्म कारागारमा बस्नु परेको थियो ।

कोलकाताको दमदम कारागारमा दाधेश्याम दास नामक कैदीले उनलाई १० वर्षअघि देखेका थिए । गत जनवरीमा पनि दीपकलाई त्यहीं देखेर सोधपुछ गर्दा उनी ४० वर्षदेखि सुनुवाइविना कारागारमा रहेको खुलेको थियो ।

दासले थुनामुक्त भएपछि वेस्ट बंगाल रेडियो क्लबमा खबर गरेका थिए । त्यसपछि विभिन्न सञ्चारमाध्यममा उनी ४० वर्षदेखि जेलमा रहेको खबर सार्वजनिक भयो र उनको पक्षमा माहोल बन्यो ।

दुर्गाप्रसादका दाइ प्रकाश, आफन्त गोपाल तिम्सिना र सामाजिक काम गर्ने इन्द्र बस्नेतले कारागारमा गएर १० फागुन २०७७ मा उनलाई भेटे । नाता प्रमाणित गरेपछि कारागारले भेट गर्न दिएको थियो । त्यसपछि उनलाई तारेखमा छाड्न माग गर्दै उच्च अदालतमा निवेदन दिइएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top