८ चैत्र, झापा ।
४० वर्षपछि भारतीय जेलबाट छुटेका दुर्गाप्रसाद तिम्सिना (दिपक जैसी) आइतबार बिहानै स्वदेश आइपुगेका छन् ।
कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा विस्तार संस्थाको पहलमा उनलाई नेपाल पठाइएको हो । झापामा पत्रकार सम्मेलन गरेर दुर्गालाई परिवारको जिम्मा लगाईने विश्व सेवा विस्तारका प्रतिनिधि इन्द्र बस्नतले जनाए ।
पत्रकार सम्मेलनपछि उनलाई इलाम माई नगरपालिका–१० स्थित घर पुर्याइने छ । उनी आमासँग भेट्न आतुर छन्, भाइ प्रकाश चन्द्रले भने, जतिसक्दो चाँडो घर पुर्याउने छौं ।
भारत पश्चिम बंगालको दमदम करेक्सनल सेन्टर (सेन्ट्रल जेल) मा रहेका उनी कोलकाता उच्च अदालतको आदेश बमोजिम शनिबार छुटेका हुन् । शारीरिक र मानसिक रुपमा कमजोर उनलाई लिन भाइ प्रकाशचन्द्र दमदम जेल पुगेका थिए ।
अदालत र प्रकाशचन्द्रबीचको सम्झौतासहितको पत्र शुक्रबार अपरान्ह अदालतले जेल पठाएको थियो । त्यही पत्रका आधारमा जेल प्रशासनले उनलाई छाडेको हो ।
कोलकाता उच्च अदालतका मुख्य न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र्र रोयले गत बुधबार साँझ दुर्गाप्रसादलाई छाड्न आदेश दिएका थिए । शुक्रबार भाइ प्रकाशचन्द्र अदालत पुगेर सबै कानुनी प्रक्रिया पूरा गरेपछि शनिबार उनलाई छाडिएको हो ।
अदालतले उनको दिमागी हालत ठीक नभएको भन्दै घरमै राखेर उपचार गर्नसमेत आदेश गरेको छ । क्षतिपूर्तिका सन्दर्भमा भने अदालत मौन छ । दुर्गाप्रसादका पक्षमा बहस गरेका वकिल हिरक सिन्हाका अनुसार हरेक ६–६ महिनामा उनको मानसिक अवस्थाबारे कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराउनुपर्नेछ ।
त्यसपछि महावाणिज्य दूतावासले अदालतलाई जानकारी गराउनेछ । अदालतको आदेशपछि भाइ प्रकाशचन्द्र सहयोगी संस्था विश्व सेवा विस्तारका प्रतिनिधि इन्द्र बस्नेतसहित कोलकाता पुगेका थिए । (कान्तिपुर दैनिक)