९ चैत्र, एजेन्सी ।
लगातारको वर्षाका कारण आएको बाढीले अस्ट्रेलियाको दक्षिणपूर्वी राज्य न्यु साउथ वेल्सको जनजीवन अस्तव्यस्त बनाएको छ ।
बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि केन्द्रीय सरकारले राहत घोषणा गरेको छ । बाढीका कारण अहिलेसम्म सयौं व्यक्तिको उद्धार गरिएको छ भने उत्तरी सिड्नीको नदीकिनारमा रहेको अधिकांश भाग जलमग्न बनेको छ ।
बाढीका कारण प्रभावित उक्त क्षेत्रका हजारौं बासिन्दा सरकारद्वारा स्थापना गरिएको आश्रयस्थलमा आश्रय लिन बाध्य छन् ।
बाढीबाट अति प्रभावित क्षेत्रका बासिन्दालाई सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री स्कट मरिसनले आइतबार सहयोग घोषणा गरेका हुन् ।
मरिसनले न्यु साउथ वेल्सका विभिन्न १८ वटा स्थानीय क्षेत्रमा बसोबास गर्ने वयस्क नागरिकलाई १ हजार डलर र बालबालिकालाई ४ सय डलर नगद दिने घोषणा गरेका छन् ।
यसैगरी बाढीका कारण ज्यान गुमाएकालाई १३ सातासम्मका लागि आर्थिक सहयोग दिइने घोषणा गरिएको छ । यद्यपि, बाढीका कारण कसैको मृत्यु भएको समाचार सार्वजनिक भएको छैन ।
बाढीका कारण ४ वटा ग्रामीण सहरका बासिन्दालाई घर छाडेर सुरक्षित स्थानमा सर्न आदेश दिइएको छ । अधिकारीहरूले बाढी प्रभावित सयौंको उद्धार गरिएको जनाएका छन् ।
शुक्रबारदेखि परेको पानीले न्यु साउथ वेल्सका पोर्ट म्याकवरी, टारी, केम्पसीलगायत क्षेत्र अत्यन्तै प्रभावित बनेका छन् ।
सिड्नीका केही स्थानमा अझै केही दिन भीषण वर्षा हुने जलवायु मापन केन्द्रलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
अत्यधिक वर्षाका कारण उत्तरी क्षेत्र जोड्ने मुख्य सडक प्यासिफिक हाइवेको केही भागका साथै अन्य केही प्रमुख सडक बन्द गरिएको समाचारमा जनाइएको छ ।
वर्षापछिको बाढीका कारण राज्यका विभिन्न क्षेत्रमा अलपत्र परेका सयौं स्थानीयलाई अस्थायी उद्धार केन्द्रमा सारिएको जनाइएको छ ।
राज्यको आपत्कालीन सेवाका अनुसार हालसम्म करिब ५ सय ५० जनालाई उद्धार गरिएको र करिब ४ हजारले सहयोगका लागि सम्पर्क गरेको जनाएको छ ।
न्यु साउथ वेल्स राज्यकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनले वर्षा अझै केही दिनसम्म जारी रहने बताउँदै बाढी प्रभावित क्षेत्रका बासिन्दालाई घरबाहिर ननिस्कन र अधिकारीहरूको सुझाव पालना गर्न अनुरोध गरेकी छन् ।
यसैगरी आपत्कालीन सेवा प्रमुख कारलिन योर्कले समेत बाढी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक पर्ने सामानको जोहो गरेर घरभित्रै रहन सुझाव दिएकी छन् ।
यस वर्ष मुख्य गरेर न्यु साउथ वेल्सको मध्यउत्तरी क्षेत्रमा आएको बाढी ५ दशकपछिकै ठूलो भएको स्थानीय समाचार संस्था एबीसीले उल्लेख गरेको छ ।