१० चैत, काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले भारतले दार्चुलाको सदरमुकाम खलङ्गाको पारिपट्टी महाकाली नदीमा एकतर्फी बाँध बनाइरहे पनि सरकार बेखबर रहेको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा सांसद बडुले भारतले बनाएको बाँधका कारण हजारौँ नेपालीको जीवन जोखिममा परेको र दार्चुलासहितका ठाउँ खतरामा रहेको बताए । ‘भारतले यति ठूलो बाँध बनाउँदा सरकार बेखबर छ, आफ्नै देशका नागरिक खतरामा पर्ने गरी काम भइरहँदा पनि नबोल्ने सरकारले कसको सेवा गरेको छ ?’, बडुले प्रश्न गरे ।
उनले सरकारले राष्ट्रवादका ठूला कुरा गर्ने तर भारतले बनाएको एकतर्फी बाँध रोक्न कुरासमेत नगरेको बताए । पहिले पनि भारतले धौलीगङ्गा बाँध बनाउँदा नेपालले बोल्न नसेकेको र अहिले धौलीगङ्गा बाँधका कारण बर्सेनि नेपालीले ज्यान गुमाएको बडुले स्मरण गराएका छन् ।
‘महाकालीको बाँधबारे सरकारले बेखबर रहेको लाजमर्दो जवाफ दिएको छ । भारतले बनाउँदै गरेको बाँधका कारण ठूलो क्षेत्र सखाप हुँदैछ’, बडुले भने ।