११ चैत, काठमाडौँ । भारतमा अचानक कोरोना संक्रमणको दर बढ्दै गएपछि त्यसको त्रास नेपालमा पनि देखिएको छ ।
नेपालमा उच्च जोखिममा रहेका र दोस्रो लहर आउन सक्ने भएकाले सरकारले आइसोलेसन र क्वारेन्टिनलाई तयार राख्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।
कोरोना महामारीको जोखिम बढेको भन्दै गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर स्वास्थ्य मापदण्ड अनिवार्य लागू गरी सबै जिल्लामा क्वारेन्टिन तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।
गृहले तयारी हालतमा राख्न सकिने क्वारेन्टिन र आइसोलेसनको विवरण पनि पठाउन जिल्ला प्रशासनलाई निर्देशन गरेको छ ।
जिल्ला कोभिड व्यवस्थापन र रोकथाम तथा नियन्त्रणसम्बन्धी काम प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले गर्छ ।
केन्द्रमा संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) यससम्बन्धी निर्णय गर्न सरकारलाई सुझाव दिने उच्चस्तरीय संयन्त्र हो ।
महामारी उच्च रहेका बेला विद्यालय, अन्य शैक्षिक संस्था, सरकारी भवन लगायतलाई क्वारेन्टिन र आइसोलेसन बनाइएको थियो ।
होटल रेस्टुराँ, डान्सक्लब, पार्टीलगायत रात्रिकालीन व्यवसाय सञ्चालनमा जोखिम हेरेर मापदण्ड हेरफेर गर्ने अधिकार भने गृहले प्रशासनलाई दिएको छ ।