तलब बढी पाउने लोभमा करार सम्झौताभन्दा फरक काम र कम्पनी नखोज्न दूतावासको आग्रह

१९ चैत, काठमाडौँ । तलब बढी पाउने लोभमा करार सम्झौताभन्दा फरक काम र कम्पनी नखोज्न साउदीमा रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।

साउदीले कफला प्रणालीलाई सुधार गर्दै रोजगारदाता परिवर्तन गर्न पाउने नियम बनाए पनि बढी तलबको लोभमा विधिवत् रुपमा कफला प्रणाली हस्तान्तरण नभएसम्म कम्पनी छाडेर भाग्ने वा काम छोड्नु अपराध ठहरिने हुँदा दूतावासले यस्तो अनुरोध गरेको हो । यसरी कम्पनी छाडेर भागेको अवस्थामा अवैध हुन गइ स्वदेश फर्किन तथा बिरामी भए उपचार गर्न समस्या पर्छ ।

यस्तै अवैध रुपमै काम गरिरहेको अवस्थामा कार्य दुर्घटनामा परि ज्यान गएमा पनि परिवारले सामाजिक सुरक्षा जीवन बिमा मार्फत् कुनै पनि रकम पाउँदैनन् । त्यसैले सचेत हुन दूतावासले आग्रह गरेको हो ।

यस्तै साउदी लगायत अरु देशमा पनि करार अवधिभन्दा बढी बस्न पाइँदैन । त्यसैले आफ्नो करार अवधि सकिनुभन्दा अगाडि नै एक्जिट भिसा लगाउने वा करार सम्झौता नवीकरण गर्न बारे यकिन गर्न पनि दूतावासले आग्रह गरको छ ।

आफ्नो अकामा अरुलाई नदिन पनि दूतावासको सल्लाह छ । आफ्नो अकामा अरुले गलत प्रयोग गरेमा त्यसको दोष जसको अकामा हो उसैलाई आउँछ ।

यस्तै मुद्दामामिला भइ नेपाल फर्केको र फेरि साउदी जान लागेको अवस्थामा पुरानो अकामामा कुनै मुद्दामामिला भए नभएको यकिन गरेर मात्र जानुपर्छ । यदि पुरानो अकामामा त्यस्तो मुद्दा भएमा विमानस्थलबाटै पक्राउ पर्ने दूतावासले जनाएको छ ।

Scroll to Top