सीतामढीबाट उद्धार गरिएका किशोरी ताथ बालिकालाई ओरेक नेपाल पठाइयो, भारतबाट सिसिटिभी फुटेज मगाइँदै

२० चैत, काठमाडौँ । भारतको सीतामढीबाट उद्धार गरिएका सात जना किशोरी तथा बालिकालाई ओरेक नेपालको सेफ हाउसमा पठाइएको छ ।

बिहीबार साँझ प्रहरीले अनुसन्धान नटुंगिएसम्मका लागि ओरेक नेपालमा मनोपरामर्शका लागि पठाएको हो।

घाँस काट्न घरबाट मंगलबार दिउँसो निस्किकी भंगहा–८ धर्मपुरका किशोरीहरू ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा र रञ्जना पासवान, १३ वर्षीया ज्योती र रिया पासवान, १७ वर्षीया नगिना पासवान र २० वर्षीय अस्मिता पासवानलाई सीतामढीबाट उद्धार गरिएको थियो।

Advertisement

उनीहरूले प्रारम्भिक वयानमा आफूहरू गीत र नृत्य सिक्न मुम्बई जान लागेको बताएका छन्। तर, उनीहरूको भनाइ, अभिभावकको बुझाइमा यो भनाइको तालमेल मिल्दैन।

त्यसकारण उनीहरूलाई कसैले भारत लगेको हुनसक्ने आशंकातर्फ अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए।

Advertisement

‘कसैले लिएर रेल्वे स्टेसनसम्म छोडेको हुनसक्ने शंकामा अनुसन्धान भइरहेको छ,’ आचार्यले भने, ‘हामी भारतीय प्रहरीसँग समन्वय गरेर सिसिटिभी फुटेज मागिरहेका छौं।’

युवतीको प्रारम्भिक वयानको पुष्ट्याइँ भइरहेको पनि आचार्यले बताए। ‘उनीहरूको वयानको पुष्ट्याइँ गरिरहेका छौं, साथसाथै उनीहरूलाई कसैले भारत लगेको भन्नेतर्फ अनुसन्धान गरिरहेका छौं,’ आचार्यले भने।

उनीहरू टेम्पो चढेर सीमा नाकासम्म पुगेको देखिएको छ। उनीहरू महोत्तरीकै भिट्टामोडनजिकैको मिथिला परिक्रमा क्षेत्रबाट भारत पुगेको प्रहरीले जनाएको छ।

कोरोना संक्रमण फैलिएपछि गत वर्ष चैत्र ११ गतेदेखि नै भिट्टामोड नाका सिल छ। त्यही नजिकै रहेको मिथिला परिक्रमा क्षेत्रबाट भने आवत–जावत हुने गरेको छ।

साँझ ५ बजे भारत छिरेका उनीहरू त्यहाँबाट सार्वजनिक बस चढेर सीतामढी पुगेका थिए।

ओरेक नेपालका अनुसार किशोरी÷युवती भयभीत र त्रसित अवस्थामा छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top