२१ चैत्र, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई दिएको समर्थन फिर्ता लिएमा राजीनामा दिने बताएका छन् ।
शनिबार बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समर्थन फिर्ता लिइदिन भनेको तर त्यसो नभएकाले राजीनामा नदिएको बताएका हुन् ।
आज मागेको हो र राजीनामा ? माग्या माग्यै छ त, मागैपिच्छे म कसरी दिनसक्छु राजीनामा ? एकदिन एउटा राजीनामा हुन्छ । एउटाले माग्दैन, दुइटाले माग्दैन, एकदिन माग्दैन, दुई दिन माग्दैन ।
माग्या माग्यै छ, ओलीले भने , ए बाबा, हटाउ न त । समर्थन फिर्ता लिइदेऊ भन्छु लिँदैन । अनि राजीनामा माग्छ । राजीनामा आइहाल्छ, समर्थन फिर्ता गर न । समर्थन फिर्ता पनि गर्दैन, अनि राजीनामा माग्छन् ।
ओलीलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएको छैन । ओलीले माओवादीतर्फ लक्षित गर्दै समर्थन फिर्ता नलिएकाले राजीनामा दिन नसकेको बताएका हुन् ।
प्रमुख प्रतिपक्षी कांग्रेसले शुक्रबार प्रधानमन्त्री ओलीलाई नैतिकताका आधारमा राजीनामा दिन माग गरेको थियो । त्यस्तै, उसले ओलीलाई हटाएर आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गर्न अग्रसरता लिने पनि निर्णय गरेको थियो ।
ओलीले राजीनामाको समाचारलाई प्राथमिकता दिएको र सरकारले गरेका विकास निर्माणका कामलाई अगाडि नराखेको भनेर असन्तुष्टि पोखेका छन् ।
उनले जहिले पनि आफ्नो राजीनामालाई बढी प्राथमिकता दिइएको तर सडक निर्माण, मेलम्ची खानेपानी जस्ता परियोजनाका समाचार अगाडि नल्याएको भन्दै सञ्चारमाध्यमको आलोचना गरेका हुन् ।
दिनैपिच्छे राजीनामा माग्छन्, दिनैपिच्छे त्यो समाचार छाप्छन् तर मेलम्चीको पानी आएको समाचार छाप्दैनन्, ओलीको असन्तुष्टि थियो ।