२१ चैत्र, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक १६५ सडकको शिलान्यास गरेका छन् ।
शनिबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित कार्यक्रमको भर्चुअल रुपमा प्रधानमन्त्री ओलीले १६५ निर्वाचन क्षेत्रका रणनीतिक सडक विस्तार कार्यक्रमको शुभारम्भ गरेका हुन्।
१६५ निर्वाचन क्षेत्रमाई आधारभूत रुपमा सडक पूर्वाधारले समृद्ध बनाउने सडक विस्तार कार्यक्रमको लक्ष्य रहेको छ।
हाल संघीय सरकार मातहत ८० वटा राष्ट्रिय राजमार्ग छन्। तिनको निर्माण, सञ्चालन, मर्मत सम्भार र व्वस्थापन गर्ने काम संघीय सरकारले गरिरहेको छ।
देश विकासमा महत्वपूर्ण टेवा पुग्ने लक्ष्यसाथ एकीकृत रुपमा निर्वाचन क्षेत्र विकास गर्ने लक्ष्य राखिएको कार्यक्रममा भौतिक योजना तथा यातायात मन्त्री वसन्त नेम्वाङले बताए।
कम्तीमा प्रत्येक निर्वाचन क्षेत्रमा एउटा सडक सञ्जाल विकास गर्ने उद्देश्य यो कार्यक्रमको छ।
त्यसैगरी, निर्वाचन क्षेत्रमै रहेका अधुरा र अलपत्र सडकलाई साझा स्वरुप दिइने उद्देश्य रहेको नेम्वाङले बताए।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी ओलीले ५७ अर्ब १० करोड रुपैयाँको लागतमा तीन वर्षभित्र पूरा गर्ने लक्ष्य रहेको बताए।
‘यसले कमसेकम दुई लेनको सडक २२१० किलोमिटर कालोपत्र गर्दैछौं, त्यसले कि अन्तरजिल्ला, सदरमुकाम वा हाइवेसम्म जोड्छ,’ ओलीले भने, ‘तीन वर्षभित्र यी पूरा हुन्छन्, म भनिएको समयभित्र गुणस्तरीय रुपमा काम सम्पन्न भएको हेर्न चाहन्छु।’
ओलीले सरकारका काम समयमा पूरा नहुने गरेको भन्दै त्यस कार्यको अन्त्य हुनुपर्ने बताए। ‘हाम्रो काम, तदारुकतामा कमी आएको छ, समयमा पूँजीगत खर्च गरेर आयोजनाहरू समयमै वा त्यो भन्दा अगाडि, गुणस्तरीय रुपमा सम्पन्न हुनुपर्छ, गुणस्तरमा सम्झौता हुँदैन,’ ओलीले भने।
उनले मन्त्रालय, अन्य निकाय र सरोकारवालाई रेखदेख गर्न र काममा बाधा नपुर्याउन अनुरोध गरे।
उनले भने, ‘हामीले एउटा काम रोक्ने आदेश दियौं भने त्यसले के-के कुरामा र कति समय पछि पार्छ। पार्ने प्रत्यक्ष आर्थिक क्षति र त्यसबाट प्रकट हुने विकासको गतिमा हामीले ध्यान दिनुपर्छ।’