२३ चैत, काठमाडौँ । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले सरकारले तीव्र विकास गरेको र नागरिकलाई सुख सुविधा दिएको केही व्यक्ति र दलले देखी नसहेको भन्दै आक्रोश पोखेका छन् ।
प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद बाँस्कोटाले विकासका लागि राजनीति नगर्ने हो भने के को लागि सांसद बनेको भन्दै प्रश्न पनि गरेका छन् ।
उनले भने, ‘सरकारले तीव्र विकास गरिरहेको छ, केहीलाई देखी नसक्नु भएको छ, विकास निर्माण देख्न र सुन्न नसक्नेले कानमा कपास र देख्न नसक्नेले साउने चस्मा लगाए हुन्छ ।’
बाँस्कोटाले विकास निर्माणका काम बढ्दै जाँदा केहीको प्रेसर बढेको पनि आरोप लगाए । सरकारले चुनावमा जाँदा प्रतिगमनको हल्ला चलाइएको भन्दै बाँस्कोटाले आपत्ति जनाएका छन् ।
यसअघि प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसदहरूले देशका विभिन्न समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सांसदहरूले आफ्नो क्षेत्रका तथा राष्ट्रिय महत्त्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।