बाढीपहिरोले क्षाति पुगेका घर पुनःनिर्माणका लागि पहिलो किस्ता बापत ५० करोड दिने

PM KP Sharma Oli during the video conference meeting with chief ministers from the seven provinces. Photo Courtesy: Rajan Kafle/Secretariat of Prime Minister of Nepal

२६ चैत, काठमाडौँ । गत वर्ष सिन्धुपाल्चोक, बाग्लुङसहितका जिल्लामा गएको बाढीपहिरोका कारण क्षति पुगेका घरको पुनःनिर्माणका लागि पहिलो किस्ताको रकम दिने निर्णय भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सबेको विपद् जोखिम न्यूनीकरणको राष्ट्रिय परिषद् बैठकले पहिलो किस्ताको रकम दिने निर्णय गरेको हो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार विपद् व्यवस्थापन कोषमा रहेको रकममध्ये ५० करोड रुपैयाँबाट तीन हजार घर पुनःनिर्माणका लागि रकम दिने निर्णय भएको छ ।

‘मनसुनजन्य विपद्का कारण घरमा क्षति पुगेका परिवारका लागि पुनःनिर्माण गर्न सहयोग सम्बन्धी कार्यविधि पहिल्यै बनिसकेको थियो, तर बजेट अभावमा रकम पठाउन सकेका थिएनौं’ पोखरेलले अनलाइनखबरसँग भने, ‘यो निर्णयसँगै चाँडै पहिलो किस्ताको रकम वितरण हुनेछ ।’

कार्यविधि अनुसार घर पुनःनिर्माणका लागि हिमाली जिल्लामा ५ लाख, पहाडमा ४ लाख र तराईमा ३ लाख रुपैयाँ प्रति घर दिने उल्लेख छ । बैठकमा यस वर्ष आगलागीबाट क्षति पुगेका घरको पुनःनिर्माणमा सहयोग गर्ने सम्बन्धमा पनि तयारी थाल्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् ।

गत २१ चैतमा बाँकेको नरैनापुर गाउँपालिका–४, खोदवा गाउँमा भएको आगलागीमा परेर १२० वटा घर टहरा जलेका थिए, जुम्लाको तिला गाउँपालिकामा पनि ३५ घर नष्ट भएका छन् ।

ती ठाउँमा घर निर्माणका लागि सहयोग गर्न एकीकृत कार्यविधि बनाउने तयारी थालिएको प्राधिकरणका सीईओ पोखरेलले बताए ।

डढेलो नियन्त्रणमा सबै स्रोत र जनशक्ति लगाउन निर्देशन

प्रधानमन्त्री ओलीले डढेलो बढिरहेको उल्लेख गर्दै नियन्त्रणका लागि सबै स्रोत र जनशक्ति प्रयोग गर्न विपद् व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिएका छन् । डढेलोका कारण वायु प्रदूषणसमेत बढिरहेको उल्लेख गर्दै ओलीले यसलाई ठूलो विपदको रुपमा लिएर नियन्त्रणका लागि गम्भीर बन्न निर्देशन दिएका हुन् ।

‘स्थानीय निकाय, वन उपभोक्ता समिति, सबै सुरक्षा निकायसहितको समन्वयमा हेलिकोप्टरदेखि अन्य स्रोत, साधन प्रयोग गरेर भए पनि डढेलो नियन्त्रणमा लिनुस्’ ओलीले भनेका छन्, ‘कतिपयले जानीजानी आगो लगाउने पनि गरेका छन्, तिनीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

उनले आगो नियन्त्रणका लागि आवश्यक उपकरण र साधन स्थानीय तहसम्म व्यवस्था गर्न पनि निर्देशन दिएका छन् । बैठकमा बाढीको पूर्वतयारीबारे पनि छलफल भएको छ ।