बालुवाटारमा डाकिएको सर्वदलीय बैठकमा प्रचण्ड सहभागी नहुने

बालुवाटारमा डाकिएको सर्वदलीय बैठकमा प्रचण्ड सहभागी नहुने

४ वैशाख, काठमाडौं ।  

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वदलीय बैठकमा सहभागी नहुने भएका छन् ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार बिहान ११ बजेलाई बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड नजाने उनका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।

संसद्को हिउँदे अधिवेशन, कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका विषयमा सुझाव लिने प्रयोजनका लागि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक राखेका हुन् ।

तर अध्यक्ष प्रचण्डले आफू सिंहदरबारमा बैठक राखिए मात्र जाने अडान लिएको बुझिएको छ । बैठक बालुवाटारमा हुने भएपछि प्रचण्डले सर्वदलीय बैठक बहिस्कार गर्ने भएका हुन् ।

प्रचण्डलाई ओलीले आफैले शुक्रवार फोन गरेका थिए। प्रचण्ड निकट स्रोतले भेटघाटका लागि फोन गरेको भए पनि सर्वदलीय बैठकका बारेमा कुराकानी नभएको दाबी गर्‍यो।

यसअघि चैत ३ गते राष्ट्रपतिले शीतल निवासमा सर्वदलीय बैठक बोलाएकी थिइन्। उक्त बैठकमा नेताहरुबीच भनाभन भएको थियो भने राष्ट्रपतिकै भुमिकाबारेमा आलोचना भएको थियो।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपतिले बोलाएको बैठकलाई बहिष्कार गरेको भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा सहभागिता जनाएका थिए।

पुस ५ गते ओलीले प्रतिनिधि सभा विघटन गरेयता चार महिनासम्म ओली–प्रचण्डबीच बालुवाटारमा भेटघाट भएको छैन।

शनिवारको सर्वदलीय बैठकमा पनि एमालेका वरिष्ठ नेता नेपालले पनि बहिष्कार गर्ने भएका छन्। नेपालको सचिवालयले बैठकबारे जानकारी नै नभएको बताएको छ।

निलम्बन गरेको मानिसलाई कहाँ बोलाउनुहुन्छ र। खै बैठकबारे हामीलाई जानकारी छैन्, सचिवालयका एक सदस्यले भने।

ओलीले पार्टीको विधान विपरित गितिविधि गरेको भन्दै नेपाल समूहका ४ जना नेतालाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.