४ वैशाख, विराटनगर ।
‘परिवर्तनलाई आत्मसाथ गरौँ’ भन्ने नारासहित आज विश्व हिमोफेलिया दिवस मनाइँदै छ ।
हिमोफेलिया रगत सम्बन्धी रोग हो । कुनै पनि सामान्य व्यक्तिलाई चोट लागेपछि रगत बगेर केही समयमै रोकिन्छ । तर हिमोफेलिया भएका व्यक्तिमा भने चोट लागेको ठाउँमा बगिरहेको रगत जम्न पाउँदैन ।
सामान्य मानिसको शरीरमा घाउचोट लाग्दा बगेको रगत जमाउने तत्व हुन्छ, जसले सामान्य चोटपटक लाग्दा धेरै रक्तश्राव हुन दिँदैन ।
शरीरमा रगत जमाउन आवश्यक तत्वहरुको कमीका कारण लामो समयसम्म रक्तश्राव भइरहने अवस्था हिमोफेलिया हो । जसले गर्दा सानो चोटपटक लाग्दा पनि धेरै रगत बग्ने समस्या देखिने हेमाटोलोजिष्ट डा. विशेष पौडेल बताउँछन्।
मांसपेशी र जोर्नीमा आन्तरिक रुपमा रक्तश्राव भएपछि शरीरमा निलो टाटाहरु देखिन्छ । समस्या देखिनासाथ रगत जँचाउन उनको सुझाव छ । सामान्यतया हिमोफेलियाको लक्षण ६ महिनादेखि एक वर्षको उमेरभित्र थाहा हुन्छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक १० हजार व्यक्तिमा एकजनालाई हिमोफेलिया हुने गरेको तथ्याङ्क छ । हिमोफेलियाको बारेमा सचेतना जगाउन यो दिवस प्रत्येक वर्ष अप्रिल १७ तारिखमा मनाउने गरिन्छ ।