साथीहरुको कुटाइबाट मलेसियामा ज्यान गुमाएका किशोरको शव तीन हप्तापछि नेपाल ल्याइयाे

साथीहरुको कुटाइबाट मलेसियामा ज्यान गुमाएका  किशोरको शव तीन हप्तापछि नेपाल ल्याइयाे

पर्वत, असार ५

साथीहरुको कुटाइबाट मलेसियामा ज्यान गुमाएका पर्वतका युवा किशोर केसी (नसिब) को शव तीन हप्तापछि नेपाल ल्याइएको छ ।

पर्वतको मोदी गाउँपालिका–५, बाजुङ धमिलपानी गाउँका मृतक केसीको शव सोमबार बिहान घरमा आएको हो । गत जेठ १५ गते साथीहरुले कुटेरै केसीको हत्या गरेका थिए ।

मृतक केसीको सोमबार बिहान मोदीखोलामा दाहसंस्कार गरिएको छ । बाबु भीमबहादुर केसीले कान्छा छोरा नसिबको शवमा दागबत्ती दिए । रोजगारीका लागि विदेश गएका युवाको अल्पायुमै आफ्नै साथीले कुटेर हत्या गरेपछि सिंगो गाउँ शोकमा डुबेको छ ।

मृतकको शव गाउँमा आएपछि सयौँ गाउँले श्रद्धाञ्जलि दिन पुगेका थिए । “सिंगो गाउँ नै शोकमा डुबेको थियो”, स्थानीयवासी तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), पर्वतका नेता भक्त कुँवरले भने “शव देखेपछि आँशु नझार्ने कोही भएन ।”

रोजगारीकै लागि मलेसिया पुगेका पूर्वी नेपालका चारजनाले नसिवमाथि आक्रमण गरेका थिए । सँगै काम गर्ने नेपाली युवाले कुटपिट गर्दा गम्भीर घाइते भएका केसीको मलेसियाको पुत्रोदय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । साथीहरुले रडले प्रहार गर्दा केसीको पेटमा गहिरो चोट लागेको थियो ।

बीस महिनाअघि रोजगारीका लागि मलेसिया पुगेका केसी परिवारका कान्छा सन्तान हुन् । उनी अविवाहित थिए । उनका पिता भीमबहादुर केसी पनि वैदेशिक रोजगारीमा जाने आउने गरिरहनुभएको थियो ।

केसी कुटपिट गरी हत्या गर्ने साथीहरु चारैजना प्रहरी नियन्त्रणमा रहेपनि एकजनालाई दोषी देखाएर अन्य उम्केको पाइएको छ । चारैजना दोषी भएपनि एकजनालाई जिम्मेवारी स्वीकार गर्न लगाई अन्य रिहा भएको सूचना आएको नेता भक्त कुँवरले बताए।

उनले भने, “अपराधमा चारैजना संलग्न भएकाले उनीहरुका विरुद्ध कानूनी लडाइँ लड्नु पर्ने अवस्था आएको छ ।”
रासस

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.