१५ बैशाख, काठमाडौ । सर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा कटौती गर्ने भएको छ ।
सर्वोच्च अदालतको हिजो बसेको प्रधानन्यायाधीशसहित न्यायाधीशहरूको पूर्ण बैठकले आजदेखि बैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय मात्र हेर्ने र बाँकी सेवा कटौती गर्ने निर्णय गरेको हो ।
यस्तै सर्वोच्च अदालतले उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधीकरणहरुको हकमा स्थानीय परिस्थिति एवं जोखिमको अवस्थाको मूल्याङ्कनका आधारमा उपयुक्त देखिएको काम कारवाही र सेवा प्रवाहको व्यवस्था सम्बन्धित अदालत तथा न्यायाधीकरणहरूले मिलाउने निर्णय गरेको छ ।
काम कारबाही तथा सेवा प्रवाह स्थगन भएका अवधिका मुद्दा, रिट तथा निवेदनमा रहेका हदम्याद, म्याद र तारेख नगुज्रने सर्वोच्चले विज्ञप्ती निकालेर जानकारी दिएको छ ।
थप निर्णय आवश्यकताअनुसार यही वैशाख ३१ गते बस्ने बैठकले तय गर्ने अदालतले जनाएको छ ।