१६ वैशाख, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–२ पिरालेकी पार्वती सेन ठकुरी मङ्गलवार बैंक खाता खोल्न गाउँपालिकाको केन्द्र जुँगार गएकी थिइन्, त्यही दिन दिउँसो जङ्गलमा लागेको आगो गाउँ पस्दा उनको घर सखाप पा¥यो । अहिले जलेको घर हेरेर बस्नेबाहेक उनीसँग अरू कुनै उपाय छैन । पार्वतीका जस्तै धेरैको अवस्था अहिले यस्तै छ ।
आगलागीबाट त्रिवेणी गाउँपालिका २ पिराले, बर्तीबाङ र चेत्रेका ४२ घरगोठ जलेर नष्ट भएका छन् । आगलागीबाट घरमा भएका सामानहरू जलेर नष्ट भएका छन् । १६ बाख्रा, सात गाई र एउटा सुँगुर जलेर मरेका छन् ।
सोमवार धनबाङको जङ्गलबाट सुरु भएको आगो गाउँमा पसेपछि पिराले गाउँ नै सखाप पारेको हो । जङ्गलमा लागेको आगो नियन्त्रणका लागि स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन लागे पनि अहिलेसम्म नियन्त्रणमा आउन नसकेको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार ओलीले बताए ।
आगलागी भएको ठाउँमा बुधवार रेडक्रसको टोलीले गैरखाद्य सामग्री वितरण गरेको छ भने गाउँपालिका र वडा कार्यालयले केही खाद्यान्न वितरण गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका सभापति डी.बी. घर्तीले जानकारी दिए ।
आगलागीबाट घरबारविहीन भएका यहाँका अग्नि पीडितहरू अहिले गाँस, बास र कपासका लागि हारगुहार गरिरहेका छन् । यस्तो बेलामा सबैले सहयोग गर्न त्रिवेणी गाउँपालिका २ का वडाध्यक्ष कविराज बुढाले आग्रह गरे ।