संसद्को संयुक्त बैठक र संयुक्त समिति नियमावली पारित

७ असार ७५, शुक्रबार

काठमाडौँ, असार ८
संघीय संसद्को आजको संयुक्त बैठकले ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५’ पारित गरेको छ ।

राष्ट्रियसभा र प्रतिनिधिसभाको आज भएको संयुक्त बैठकले उक्त नियमावली बहुमतले पारित गरेको हो । बैठकमा समितिका सभापति कृष्णभक्त पोखरेलले ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

यसअघि नियमावलीको मस्यौदा प्रतिवेदनमाथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सभापति पोखरेलले विगतका अनुभवलाई पनि अध्ययन गरेर संयुक्त नियमावलीमा गणपूरक संख्या राखिएको स्पष्ट पारे ।

Advertisement

संवैधानिक व्यवस्थानुसार संयुक्त समितिमा सदस्य संख्या राखिएको जानकारी दिँदै उनले संयुक्त समितिमा महिला र समावेशिताको सहभागिता सुनिश्चितता गरिने बताए ।

नियमावलीको मस्यौदा प्रतिवेदनमाथिको दफावार छलफलमा भाग लिँदै सांसद पुष्पा भुसालले संयुक्त नियमावलीमा सदनका काम कारवाहीमा जनताको संलग्नता र अपनत्व देखाउने प्रक्रियाको थालनी भएकामा प्रशंसा गर्दै समावेशी प्रतिनिधित्वको व्यवस्था सुनिश्चित गर्नुपर्ने सुझाव दिइन् ।

Advertisement

उनले संयुक्त नियमावलीमार्फत राज्यका निर्देशक सिद्धान्तमा भएका जनताका अधिकार कार्यान्वयनका लागि सरकारमार्फत सदनमा प्रस्तुत गर्न सक्ने अधिकार क्षेत्र अब संसद्को काँधमा आउनु महत्वपूर्ण हो भनिन् ।

संशोधन प्रस्तावकर्ता विमला विकले दफावार छलफलमा भाग लिँदै संयुक्त समितिको कुल सदस्य संख्याको ३३ प्रतिशत महिलाको सहभागिता र समावेशिता सुनिश्चित गर्न माग गरिन् । संशोधन प्रस्ताव सम्बोधन भएको जनाउँदै उनले प्रस्ताव फिर्ता लिएकी थिइन्।

अर्का संशोधन प्रस्तावकर्ता प्रेम सुवालले संयुक्त समितिलाई सहभागितामूलक बनाउन ५१ प्रतिशतको सट्टा तीन चौथाइ संख्यालाई गणपूरक बनाउन सुझाव दिएका थिए। बैठकले सुवाल र दुर्गा पौडेलले नियमावलीमाथि पेश गरेको संशोधनको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । संघीय संसद्को आगामी बैठक अर्काे सूचना नभएसम्मका लागि स्थगन गरिएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top