२४ बैशाख, काठमाडौं । वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादल र डा. खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गरेका छन् ।
हेलिकप्टर चढेर हेटौँडा पुगेका बादलले शुक्रबार प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । बादलको प्रस्तावक वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल बसेका छन् । समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत बसेकी छन् ।
यस्तै, देवकोटाले पनि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्षबाट साझा उम्मेदवारका रुपमा उम्मेदवारी दर्ता गराएका छन् । उनी नेपाल निकट नेता हुन् ।
देवकोटाको उम्मेदवारीको प्रस्तावकमा नेकपा माओवादी केन्द्र वागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल रहेका छन् भने समर्थकमा नेपाली कांग्रेस वागमती प्रदेशका प्रमुख सचेतक राधा घले रहेकी छन् ।
यसैबीच, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले पनि उम्मेदवारी दिएको छ । नेमकिपाको तर्फबाट कृष्णबहादुर तामाङले मनोनयन दर्ता गराएका हुन्। सांसद सुरेन्द्रराज गोसाईको प्रस्तावमा सांसद सिर्जना सैज्युले तामाङको उम्मेदवारीको समर्थन गरेकी छिन् । तामाङ काभ्रेका नेता हुन् ।
उपनिर्वाचनको मतदान जेठ ६ गते हुनेछ।