३१ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै राज्यका सबै अङ्ग र निजी क्षेत्रलाई प्रभावकारीरूपमा परिचालित हुन आग्रह गरेका छन् ।
प्रधानमन्त्रीका लागि तेस्रो कार्यकालका लागि शपथ ग्रहणपछि आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्दै उनले मानवीय सेवाको उदात्त भावना अघिपछि भन्दा बढी प्रकट गर्न आग्रह गरे ।
महामारी नियन्त्रणमा सम्बन्धित नियमको पालना गर्न र कुनै अनियमितता हुन नदिन उनले सचेत गराए ।
उनले भने , यतिबेला सबै एकजुट भएर महामारीको रोकथाममा लाग्नुपर्नेमा सरकारका राम्रा कामलाई पनि नदेखे झैँ गर्ने र असहयोग वा अनियमितता गर्ने प्रवृत्ति उचित होइन । कुनै पनि नाममा हुने भ्रष्टाचार वा अनुचित लाभ लिने कार्य सह्य छैन । सरकारले कडाइका साथ कारबाही गर्नेछ ।
प्रधानमन्त्री ओलीले सबै दल, नेता र कार्यकर्तालाई विकराल स्थितिमा संवेदनशील भएर विधि र कानुनको पालना गर्न आग्रह गरे । उनले छिमेकी र मित्र देशलाई महामारी नियन्त्रणमा सघाउन पनि आग्रह गरे ।
प्रधानमन्त्री ओलीले राज्यको स्रोत, साधन र ज्ञानको सहीरूपमा प्रयोग भइ नागरिकका लागि परिणाम दिन सक्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नवनियुक्त मन्त्रिहरू र सरकारका उच्च कर्मचारीको सहभागिता थियो ।