३ जेठ, काठमाडौं ।
नेपाल पत्रकार महासङ्घले कोरोना महामारीको समयमा पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरूलाई चेतावनी दिएको छ । कोरोना महामारीको दोस्रो लहरमा पनि निजी सञ्चार गृहहरूले श्रमजीवी पत्रकारलाई निकाल्न थालिएको सूचना आएको भन्दै महासङ्घले कुनै पनि बहानामा पत्रकारको रोजगारी नखोस्न चेतावनी दिएको हो ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले कोरोना महामारीका बेला कुनै पनि बहानामा पत्रकारलाई निष्कासन नगर्न आग्रह गरे ।
उनले कोभिड १९ को पहिलो लहरमा जस्तै दोस्रो लहरमा पनि पत्रकारलाई निष्कासन गर्न सुरु गरिएको र निष्कासित भएका पत्रकारका निम्ति महासङ्घले कानुनी लडाइँ लड्नुको साथै दबाबमूलक काम गरिरहेको बताए ।
महासङ्घले कोभिडको दोस्रो लहरमा निष्कासनमा परेका नौ जनाको पुनर्नियुक्तिसमेत गराएको महासचिव पुरीले बताए । त्यसैगरी पाँच सञ्चार माध्यमलाई सात दिनभित्र पत्रकारको समस्या समाधान गर्न अल्टिमेटम दिएको पनि उनले बताए ।