‘षड्यन्त्रकारीहरूको उक्साहटमा पुनः संसद्को चीरहरण भयो’

‘षड्यन्त्रकारीहरूको उक्साहटमा पुनः संसद्को चीरहरण भयो’

८ जेठ, काठमाडौँ ।

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका छन् ।

शनिवार बिहान सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै नेता नेपालले प्रतिगमन दोहोरिएको र शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको बताएका हुन् ।

उनले प्रधानमन्त्री केपी ओलीको यो कदमको भर्त्सना गर्दै प्रतिगमन भाग २ को डटेर प्रतिवाद गर्न आह्वानसमेत गरेका छन् ।

‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ ।संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो ।

यो व्यवस्था नै कू गर्ने अग्रसरता हो ।’ उनले भनेका छन्, ‘शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु !’

शुक्रबार मध्यरामा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीका लागि नेकपा एमालेका अध्यक्ष ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा दुवैले पेस गरेको दाबी नपुगेको भन्दै खारेज गरेकी थिइन् ।

त्यसलगत्तै मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरी कार्तिक २६ र मंसिर ३ गते दुई चरणका लागि निर्वाचनको घोषणा गरेकी छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.