९ जेठ, ललितपुर ।
नक्कली स्यानिटाइजर उत्पादन गरी बिक्री÷वितरण गर्ने एक कारखानामा प्रहरीले छापा मारेको छ ।
अवैधानिक रूपमा चलाइरहेको र स्वास्थ्यको मापदण्ड विपरीत उत्पादन गरिएको नक्कली स्यानिटाइजर उत्पादन गरी बिक्री÷वितरण गर्ने ललितपुरको महालक्ष्मी नगरपालिका ४ इमाडोलको शीतल हाइटमा रहेको कारखानामा प्रहरीले छापा मारेको हो ।
महानगरीय अपराध महाशाखाको टोलीले कारखाना सञ्चालक आशिष प्याकुरेललाई नियन्त्रणमा लिएको छ ।
त्यस्तै कारखानाबाट तयारी अवस्थामा रहेको स्यानिटाइजर, स्यानिटाइजर उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थलगायत सामग्री पनि नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) चन्द्र कुबेर खापुङले जानकारी दिए ।
स्वास्थ्यका लागि प्रतिकूल र निम्न गुणस्तरको स्यानिटाइजर उत्पादन तथा बिक्री÷वितरण भइरहेको सूचनाको आधारमा छापा मारिएको उनले बताए । एसएसपी खापुङले उत्पादित स्यानिटाइजर ल्याब टेस्ट गर्दा स्वास्थ्यका लागि अत्यन्तै हानिकारक र विषाक्त पाइएको पनि बताए ।
दोषीमाथि कानुनी कारबाही अगाडि बढाइने उनले बताए । यस कारखानालगायत मुख्य–मुख्य डिलर र सप्लायर्सलाई पनि नियन्त्रणमा लिइएको उहाँले जानकारी दिए । प्रहरीले कारखानामा ३० हजार लिटर स्यानिटाइजर हुन सक्ने बताएको छ ।