१० जेठ, काठमाडौं ।
नेकपा एमालेको खनाल–नेपाल समूहका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण नबुझाउने भएका छन् ।
एमालेले खनाल–नेपाल समूहका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायतलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन अस्ति पत्र पठाएको थियो ।
पार्टीको नवौं महाधिवेशनपछिको संरचना भत्काएर अवैध संरचना निर्माण गरेर स्वयम् आफू नै अवैध भइसकेको व्यक्तिलाई आफूहरुले स्पष्टीकरण बुझाइरहन आवश्यक नरहेको खनाल–नेपाल समूहका नेता भीम रावलले टिप्पणी गरे ।
‘स्वयम् केपी शर्मा ओली एमालेको अवैध अध्यक्ष भइसक्नुभएको छ । कार्यकर्ताको मनोबल गिराउने र एकपछि अर्को असंवैधानिक कदम अघि बढाउने काम पटक–पटक गरिरहनुभएको छ’ ‘अवैध अध्यक्षले सोधेको स्पष्टीकरण दिइरहनुपर्ने आवश्यकता छैन र हामी स्पष्टीकरण पनि दिँदैनौँ ।’
यस्तै नेता रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नै स्पष्टीकरण दिनुपर्ने बताए । पार्टीलाई निजी कम्पनीजस्तो बनाउनुको कारण, नवौं राष्ट्रिय महाधिवेशनपछिको संरचना भत्काउनुको कारण, संविधानमाथि बारम्बार प्रहार गर्नुको कारण, पार्टी विधान विपरीत गतिविधि गर्नुपर्ने कारणलगायत विषयमा केपी शर्मा ओलीले स्पष्टीकरण दिनुपर्ने बताए ।