११ जेठ, काठमाडौँ ।
देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढिरहँदा नारायणगढ–बुटवल सडक बिस्तारमा कार्यरत धेरै कामदारले काम छाडेका छन् ।
गत महिनासम्ममा आयोजनामा पाँचदेखि छ सयसम्म कामदार कार्यरत रहेकामा हाल ६०÷७० जना मात्रै बाँकी रहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ ।
निर्माण व्यवसायीले क्याम्पमा मिलाएर राखेर काम गराउन चाहेपनि कामदार कोभिडकै कारणले धमाधम निर्माणस्थल छाडिरहेको आयोजनाले जनाएको छ । कतिपय कामदारको परिवारका सदस्य वा आफन्त कोभिड भएकाले काम छाडेको आयोजना प्रमुख रमेशकुमार दृष्टिले बताए।
एकै दिन वा एकै पटकभन्दा पनि कामदार बिस्तारै घटेको उनले बताए। उनले भने, “ यो अवस्थामा सुधार नभएसम्म कामदारलाई तुरुन्त काममा फर्काउन गाहे हुने देखिन्छ ।”
निर्माणस्थलमा कतिपय स्थानीयवासी त कतिपय टाढाका कामदार कार्यरत थिए । कामदारले धमाधम काम छाडेर हिंडिरहेकाले निर्माणमा बाधा पुगेको छ ।
निर्माणस्थलमा उपलब्ध जनशक्तिलाई कोभिड मापदण्डको पालना गराएर काममा लगाइएको हो । कामदारहरुलाई छुट्टाछुट्टै समूहमा रहने गरी व्यवस्था मिलाइएको उनले बताए । निर्माण अघि बढाउनका लागि स्थानीय प्रशासनबाट सहयोग भइरहेको प्रमुख दृष्टिले बताए ।
सरकारले पूर्व–पश्चिम राजमार्ग विस्तारलाई उच्च प्राथमितामा राखेको भएपनि आयोजना निर्माणमा विभिन्न कारणले ढिलाइ भइरहेको छ ।
कहिले वन क्षेत्रमा रुख हटाउने, कहिले कामदारले आफूहरुले पारिश्रमिक रोकिएको भन्दै केही समय निर्माण ठप्प बनाउने र गत वर्षदेखि कोभिडको असर परेको प्रमुख दृष्टिले बताए ।
समग्र ठेक्काको हिसाबले १५÷२० प्रतिशत सक्नुपर्ने भएपनि अहिलेसम्मको भौतिक प्रगति छ÷सात प्रतिशत मात्रै रहेको आयोजनाले जनाएको छ ।