१२ जेठ, काठमाडौं ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बुद्धको २५६५ औँ जन्मजयन्तीका अवसरमा शुभकामना ब्यक्त गरेका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत् नेता नेपालले बुद्धजयन्ती तथा उभौलीको अवसरमा शुभकामना व्यक्त गर्दै बहुधार्मिक, बहुसांस्कृतिक नेपाली समाजमा सहिष्णुता र आपसी सद्भाव एवं एकता कायम गर्न बुद्धमन्त्र महत्वपूर्ण भएको बताए ।
उनले गौतम बुद्धको त्रिसंयोग (जन्म¸ ज्ञान प्राप्ति र महापरिनिर्वाण) परेकाले आजको विशेष रहेको उनको भनाई छ । बुद्धको त्याग, तपश्या, निष्ठा र ज्ञान जीवनका लागि महत्वपूर्ण मन्त्र एवं जीवन दर्शन रहेको उनले उल्लेख गरे ।
‘जीवनमा उच्च नैतिकता, अनुशासन, न्याय र निष्ठा, निरन्तरता, इमान्दारिता, अनुशाशित शैली, पीडितहरुको पक्षधरता आदि बुद्धदर्शनमा आधारित महत्वपूर्ण मन्त्रहरु हुन् । बुद्धवाणीमा भनिए जस्तै अहिंसा, शान्ति, सत्यता र सरलता सबैभन्दा महत्वपूर्ण दर्शन हुन् ।
यसैगरी कुनै पनि कुरालाई यत्तिकै विश्वास नगर, हेपाहा शैली भएका र कपटीलाई साथी नबनाउ, सही बाटो आवलम्बन गर र आफ्नो बाटोमा निरन्तर अघि बढिराख जस्ता मार्गदर्शन महत्वपूर्ण छन् ।’ नेता नेपालले भने ।
कोरोनाको दोस्रो लहरका कारण माहामारी फैलिरहेका बेला हामीले भौतिक दूरी कायम राख्दै भविष्यमा आउन सक्ने स्वास्थ्य संकटबाट मुक्त हुन सकौं भनी उनले शुभकामना व्यक्त गरेका छन् ।