संविधान मास्ने षड्यन्त्र भइरहेको छ, प्रतिनिधि सभा पुनर्स्थापनाको विकल्प छैन : खिमलाल देवकोटा

संविधान मास्ने षड्यन्त्र भइरहेको छ, प्रतिनिधि सभा पुनर्स्थापनाको विकल्प छैन : खिमलाल देवकोटा

१४ जेठ, काठमाडौं ।

राष्ट्रिय सभाका सदस्य डाक्टर खिमलाल देवकोटाले संविधानलाई मास्ने षड्यन्त्र भइरहेको भन्दै संविधानलाई बचाउने र सही दिशामा ल्याउन आफ्नो भूमिका हुने बताएका छन् ।

राष्ट्रिय सभा सदस्यको रूपमा शपथ ग्रहण गर्दै उनले संविधानतः प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुने भए पनि संसद्लाई छलेर पटक–पटक विघटन गरिएकाले संविधानलाई मास्ने र सिध्याउने खेल भएको बताए ।

संविधानलाई सबै मिलेर बचाउनुपर्ने भन्दै राष्ट्रिय सभा सदस्य देवकोटाले आफ्नो भूमिका संविधानलाई बचाउन र संविधानलाई सही दिशामा ल्याउनका लागि हुने बताए । डा. देवकोटाले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने विश्वास पनि व्यक्त गरे ।

संविधानलाई सही दिशामा ल्याउनका लागि प्रतिनिधि सभा पुनर्स्थापनाको विकल्प नभएको भन्दै उनले संविधानतः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ को उपधारा (५) अनुसार दाबी गरिसकेपछि देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिनुपर्नेमा त्यसो नगरि संविधानभन्दा बाहिर गइएको बताए ।

देवकोटाले राष्ट्रिय सभा सदस्यको रूपमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट शपथ लिएका छन् । देवकोटा गएको जेठ ६ गते भएको राष्ट्रिय सभा सदस्यको उपचुनावबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र एमालेको खनाल–नेपालको समर्थनमा निर्वाचित भएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.