२७ जेठ, धनगढी ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माधव नेपाल पक्षका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ ।
पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै प्रदेश कमिटीले १७ जना प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । २४ घण्टाभित्र जवाफ पेश गर्ने समय दिइएको एमालेका प्रदेश सचिव राजेन्द्र रावलले जानकारी दिए ।
विश्वासको मतको पक्षमा मतदान नगर्न दिएको निर्देशन विपरीत मतदान गरेकाले स्पष्टीकरण सोधिएको रावलले जानकारी दिए ।
यसअघि सुदूरपश्चिम एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले ह्वीप उल्लंघन गरेको भन्दै मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने ओली पक्षका ७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका थिए । उनीहरुले स्पष्टीकरण बुझाइसकेका छन् ।