विराटनगर ः मेक्सिको विरूद्ध सोमबार भएको खेलमा ब्राजिलका स्टार खेलाडी नेइमार ‘नायक’ नै साबित भए । एक उत्कृष्ट गोल गरेर र एक उत्कृष्ट पास मिलाएर नेइमार ब्राजिललाई क्वाटरफाइनलको यात्रा तय गराए । मेक्सिको गोलविहीन रहँदा ब्राजिलले २ गोल गर्यो ।
नेइमारले खेलको ५१ औँ मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाए भने ८८औँ मिनेटमा उनैको पासमा सब्सिच्युट खेलाडीका रुपमा मैदान छिरेका रोबर्ट फिरिमिनोले दोस्रो गोल गरे । उनी नायक घोषित भए पनि विश्लेषक एवं दर्शकहरूले उनको अभिनय गर्ने बानी उस्तै रहेको बताएका छन् ।
तर यो खेलमा गोल गरेर चम्किए पनि नेइमारको एउटा बानी भने नसुध्रिएको विश्लेषकले आरोप लगाएका छन् । सानो ट्याकलमा पनि मैदानमा लड्ने र त्यसलाई ठूलो देखाउने वा अभिनय उनको बानीले कतिलाई खुसी त कतिलाई हैरान समेत बनायो ।
नकआउट चरणको सो खेलमा नेइमारले निकै नै अभिनय गरेर दर्शकलाई र हँसाए पनि भावुक पनि बनाए । उनी बारबार मैदान लडेर खुट्टो नै भाँचिएजसरी कराउँथे, अनि खेल नै रोकेर मैदानमा प्राथमिक उपचारकर्मी आइपुग्थे ।
तर भएको केही देखिँदैनथ्यो । यसले विपक्षी खेलाडीलाई मनोवैज्ञानिक असर र ब्लाकमेल गर्न पर्याप्त थियो । तर यो विश्वकपमा नेइमार धेरै रोएको, लडेको र सानो कुरालाई ठूलो देखाउने गरी अभिनय गरेको कुरा भने सर्वत्र आलोचनाको विषय बनेको छ ।
गोलपछि उनी बुरूक्कै उफ्रेर सहकर्मीको काँधमा चढेर खुसी मनाएका थिए । दुवै पटकको गोल पोस्टको एकदमै नजिकबाट भएको थियो र गोलकर्ता स्वयं नै पोस्टभित्र छिरेका थिए । नेइमार खेलको म्यान अफ द म्याच घोषित भए ।