विराटनगर, असार २९
आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती विराटनगरमा पनि विविध कार्यक्रमगरी मनाइएको छ । सो अवसरमा भानु कला केन्द्रले आज बिहान प्रभातफेरीको आयोजना गरेको छ ।
केन्द्रको कार्यालय सन्सारीमाई स्थान परिसरबाट निकालिएको प्रभातफेरीले ट्राफिकचोक,जनआन्दोलनचोकसहित मेनरोडको विभिन्न भागको परिक्रमा गरेको थियो ।
प्रभातफेरीमा प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरे सहित नेपाल प्रहरीको ब्याण्ड, भानुमोरङ आधारभुत विद्यालयका विद्यार्थी र साहित्यकार तथा कलाकारहरुको सहभागिता थियो ।
आदिकविको जन्मजयन्तीको अवसरमा भानुकला केन्द्रले गएको २३ गतेदेखि आजसम्मकालागि विविध कार्यक्रमको आयोजना गरेको थियो । सो अवसरमा स्रष्टा सम्मान,बहुभाषिक कवि गोष्ठी,समावेशी सांस्कृतिक कार्यक्रम र झांकी सहितको ¥याली आयोजना गरिएको भानुकला केन्द्रका सहसचिव प्रचण्ड पौडेलले जानकारी दिए ।
कार्यक्रममा मन्त्री घिमिरेले आदिकविको जन्मजयन्तीमा सबै पक्षलाई समेटेर बृहत कार्यक्रम गरिनुपर्ने बताए । कार्यक्रमका अन्य वक्ताहरुले आदिकवि आचार्यले नेपाली भाषासंस्कृतिको उत्थानमा पु¥याएको योगदानका विषयमा चर्चा गरेका थिए ।