एजेन्सी, असार ३१
विश्वकप फुटबलको सबैभन्दा प्रतिक्षित खेल अर्थात, फाइनल आज राति रुसको लुज्निकी रंगशालामा नेपाली समयअनुसार राति पौने ९ बजेदेखि सुरु हुँदैछ ।
युरोपेली टोलीहरु फ्रान्स र क्रोएशिया उपाधिका लागि खेल्दैछन् । फ्रान्स पछिल्लो २० वर्षमा ४ ठूला प्रतियोगिताको फाइनलमा पुगेको छ भने तेस्रो पटक विश्वकपको फाइनल खेल्दैछ ।
एन्टोइन ग्रिजम्यानले आजको विश्वकप फाइनल एउटा सामान्य खेल भएको र टोली आफ्नो क्षमतामा अडिग रहनुपर्ने बताएका छन । डिडियर डेसच्याम्पको टोली फ्रान्सले बेल्जियमविरुद्धको सेमिफाइनलमा १–० को जित हासिल गरेको थियो ।
इंग्ल्याण्डलाई अतिरिक्त समयमा पराजित गरी क्रोएशिया पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । क्रोएशियाली कप्तान लुका मोड्रिच जारी विश्वकपमै एक शनशनी स्टारको रुपमा देखिएका छन् ।
पछिल्लो तीन सिजनमा रियल मड्रिडका लागि लगातार च्याम्पियन्स लिगको उपाधि जितेका उनी क्लव स्तरका ठूला प्रतियोगिताबाट अनुवभसिद्ध छन् । सन् १९९८ मा आफ्नै देशमा भएको विश्वकपको उपाधि जितेको फ्रान्स सन् २००६ मा जर्मनीमा भएको विश्वकपको फाईनलमा ईटालीसँग पराजित भएको थियो । उता क्रोएसिया पहिलो पटक फाईनलमा पुगेको हो ।
सन १९९८ को विश्वकपमा पहिलो पटक सहभागिता जनाउँदा क्रोएसिया तेस्रो भएको थियो । यसपटक उपाधि जित्दै ईतिहास रच्ने क्रोएसियाको लक्ष्य छ । फ्रान्स क्रोएसिया अहिलेसम्म ५ पटक आमने सामने भएका छन् ।
जसमा फ्रान्सले ३ खेल जितेको छ भने दुई खेल बराबरीमा सकिएको छ । जारी विश्वकपमा दुबै टोली अहिलेसम्म अपराजित छन् । क्रोएसियाले फाइनलसम्म आईपुग्दा सबै ६ खेल जितेको छ भने फ्रान्सले ५ खेल जित्दै समूहको एक खेल बराबरी गरेको छ ।