३० भदौ, काठमाडौं ।
नेपालबाट उन्मुलन हुन लागेको दादुरा रोग फेरि देखिन थालेको छ ।
पछिल्ला बर्षमा नेपालमा देखिन छाडेको यो रोग गत हप्ता जाजरकोटमा दुई जनामा दादुरा संक्रमण भएको पुष्टि भएको छ । कोभिड १९ को संक्रमणको समयमा बालबालिका नियमित खोप प्राप्त गर्नबाट छुटेका कारण पनि यस्ता रोगहरु फेरी फर्कन सक्ने विज्ञहरुले बताउदै आएका छन् ।
दादुरा अति छिटो सर्ने सङ्क्रामक रोग हो,जुन मिजल्स भाईरसबाट लाग्दछ । यो रोग सामान्यतया पाँच वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप लिन सक्ने विज्ञहरुको भनाइ छ ।
स्वास्थ्यविद् डा बाबुराम मरासिनीले दादुरा रोग निकै संक्रामक रहेकाले यसले चाँडैनै महामारीको रुप लिन सक्ने देखिएकाले यसलाई नियन्त्रण गर्नु आवश्यक रहेको बताए ।
पछिल्ला बर्षहरुमा नियमित खोपको सुनिश्चितता कम रहेको देखिएका कारण पनि दादुर रोग फेरि देखिन थालेको उनको भनाई छ । “पछिल्ला बर्षहरुमा नियमित खोप कार्यक्रम प्रभावित भएको देखिएको छ । जसका कारण नेपालमा निर्मुल हुँदै गएको दादुरा रोग फेरि देखिन थालेको छ” उनले भने ।
दादुरा रोग लागेको तीन वटा बच्चामध्ये एक जनाको ज्यान जान सक्ने भएकाले नियमित खोपमा ध्यान दिनुपर्ने उनको भनाई छ । ९० प्रतिशत बच्चामा खोप नपुगे दादुरा खोपले महामारीको रुप लिन सक्ने भनाइ छ ।