३० भदौ, पोखरा ।

कोराेना महामारीका कारण करिब २ वर्षदेखि बन्द रहेका पोखराका डान्सबार, दोहोरी, नाचघर जस्ता रात्रीकालीन व्यवसाय शुक्रबारदेखि खुल्ने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीले बुधबार निश्चित स्वास्थ्य मापदण्ड पालन गरेर राति १ः३० बजेसम्म व्यवसाय खुल्न पाउने गरी आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जारी गरेको आदेशमा भनिएको छ, ‘नाचघर, क्लब, डान्सबार, दोहोरीजस्ता रात्रीकालीन व्यवसायहरु तोकिएका स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी गराई राति १ः३० बजेसम्म सञ्चालन गर्न सकिने ।’

प्रशासनको यो आदेशसँगै मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरामा रात्रीकालीन व्यवसाय खुला हुने भएको छ । बुधबार जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको थियो, सोही अनुसार प्रमुख जिल्ला अधिकारीले रात्रीकालीन व्यवसाय खुला हुने गरी आदेश जारी गरेका हुन् ।

कास्कीमा होटल तथा रेस्टुरेन्टसमेत राति साढे ११ बजेसम्म खुल्न पाउने  छन्। प्रशासनले जिल्लाभरका सम्पूर्ण निजी तथा सार्वजनिक शिक्षण संस्थाहरु स्थानीय तहसँगको समन्वयमा भौतिक उपस्थितिमा सञ्चालन गराउन सक्ने जनाएको छ ।

Scroll to Top