असोज १० बाट साताव्यापी ‘किताब जात्रा’

७ असोज ७८, बिहीबार
Share this
709shares

७ असोज, काठमाडौं ।

Advertisement

हरेक वर्ष किताब यात्रा फाउन्डेसनले आयोजना गर्ने ‘किताब जात्रा’ यसपटक असोज १० गतेदेखि १६ गतेसम्म हुने भएको छ । फाउन्डेसनले बुधबार विज्ञप्ती जारी गर्दै ‘किताब जात्रा’ एक सातासम्म चल्ने जानकारी दिएको हो ।

फाउण्डेसनका अध्यक्ष तथा नबिल किताब जात्रा–२०७८ का फेस्टिभल निर्देशक ऋषिराम अधिकारीले अघिल्लो वर्षझैं यो वर्ष पनि टेलिभिजन र युट्युब च्यानलबाट फेस्टिभल प्रसारण गरिने बताए ।

Advertisement

‘यस वर्ष पनि भौतिक रूपमा किताब जात्रा गर्ने योजना कोभिड–१९ महामारीको प्रभाव अझै कायम रहेकोले सम्भव हुन सकेन । त्यसैले यस वर्ष पनि सेसनहरू एपीवान एचडी टेलिभिजन प्रशारण गरिनेछ । त्यसैगरी किताब जात्रा युट्युब च्यानलबाट पनि सेसनहरू हेर्न सकिनेछ,’ उनले भनेका छन् ।

‘किताब जात्रा’ असोज १० बेलुकी ५ बजेदेखि ७ बजेसम्म र त्यसपछिका दिनमा ६ बजेदेखि ७ बजेसम्म एपिवान टेलिभिजनमा हेर्न सकिनेछ । जात्रामा जोडिएको किताब नामलाई सार्थक बनाउन भने किताब यात्रा डटकमबाट नेपालमा उपलब्ध पुस्तकबारे जानकारी लिन र खरिद गर्न पनि सकिने उनले बताए ।

Advertisement

नबिल बैंक लिमिटेडको शीर्ष प्रायोजन रहेका जात्रा ‘क्रेता मार्ट’सँगको सहकार्यमा हुन लागेको हो । ‘पावर्ड बाइ’मा ‘नेपाल बैंक लिमिटेड’ र राष्ट्रिय वाणिज्य बैंकले सहकार्य गरेका छन् ।

‘किताब जात्रा’को यो चौथो संस्करण हो । समाजका विभिन्न क्षेत्रका व्यक्तित्वबीच अन्तरक्रिया गरिने जात्रामा यस साहित्य, सिनेमा, संगीत, अर्थ, उद्यमलगायतका क्षेत्रका व्यक्तित्वहरू समावेश ८ वटा सेसनका साथै विशेष र काव्यिक प्रस्तुति पनि रहने फाउन्डेसनका सचिव कला अनुरागीले जानकारी दिए ।

उनका अनुसार ‘कथा लेखनको कथा’ शीर्षकमा आख्यानकार नयनराज पाण्डे र अमर न्यौपानेसँग शोभिता सिंखडाले सम्वाद गर्नेछिन् भने ‘लेखनमा लगाव’ शीर्षकमा सुरेश बडाल र प्रभाव बरालसँग मोहनराज शर्माको संवाद हुनेछ । जात्रामा कवि नवराज पराजुलीको विशेष प्रस्तुति समेटिनेछ ।

अभिनेता निखिल उप्रेती र विपिन कार्कीसँग ‘सिनेमाको संसार’ तथा सुगम पोखरेल, प्रकाश सपुत र प्रमोद खरेलसँग ‘स्वरको सरगम’ शीर्षकमा समा थापाले बहस चलाउँदैछिन् । त्यसैगरी गायक अमृत गुरुङसँग टिकाराम यात्रीको अन्तरंग कुराकानी जात्रामा हेर्न सकिनेछ । गायिका आनी छोइङ डोल्माको विशेष प्रस्तुति पनि जात्रामा रहनेछ ।

‘अबको नेपाल, डिजिटल नेपाल’ शीर्षकमा डा. बैकुण्ठ अर्याल, पुरुषोत्तम खनाल र सुनैना पाण्डेसँग सुवास शर्माको अन्तरक्रिया हुनेछ भने ‘उद्यमको बाटो’ शीर्षकमा लक्ष्मण न्यौपाने र रमेश शेर्पासँग रूपा खड्काले अन्तरक्रिया गर्नेछिन् । ‘अर्थको अर्थ’ सेसनमा महाप्रसाद अधिकारी, किरणकृष्ण श्रेष्ठ र वर्षा श्रेष्ठसँग भरत रिजालले बहस गर्नेछन् ।

जात्राकै अवसरमा नेपाली वाङ्मय क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिने ‘प्रेम साहित्य सम्मान’ पनि घोषणा गरिने फाउन्डेसनका उपाध्यक्ष कृपेश किशोर घिमिरेले बताए ।

नगद राशिसहितको प्रदान गरिने सम्मान सर्लाही जिल्लाका शिक्षासेवी स्व. प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको हो । उनी फाउन्डेसनका संस्थापक अध्यक्ष ऋषिराम अधिकारीको पिता हुन् । प्रेम साहित्य सम्मान साहित्यकार सरुभक्त र कवि जसराज किराँतीले प्राप्त गरिसकेका छन् ।

त्यसैगरी, हरेक नागरिकले सहज रूपमा किताब पढ्ने अवस्था सिर्जना होस् भन्ने ध्येयका साथ अनलाइन बुकसेलिङ प्ल्याटफर्म ‘किताब यात्रा डटकम’ सञ्चालन गरिरहेको कम्पनी किताब यात्रा प्रा.लि.ले ‘किताब जात्रा’कै अवसरमा आफ्नो प्ल्याटफर्मबाट सर्वाधिक बिक्री भएको पुस्तकलाई ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ प्रदान गर्नेछ ।

यो अवार्ड आख्यानकार अमर न्यौपानेलिखित ‘गुलाबी उमेर’ र विजयकुमारलिखित ‘सम्बन्धहरू’ले प्राप्त गरिसकेका छन् । यस वर्षको सम्मान र अवार्ड दुवै ‘किताब जात्रा’को पहिलो दिन घोषणा गरिने किताब यात्रा प्रा.लि.का सिइओ विकेश भट्टराईले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top