११ असोज, काठमाडौं ।
ककपिटमा धुँवा देखिएपछि बुद्ध एयरकाे जहाज काठमाडौं फिर्ता भएको छ । बिहान साढे ७ बजे काठमाडौंबाट पोखराका लागि उडेको यू ६०१–९ एनएजेओ जहाज पोखरा नपुगी काठमाडौं फिर्ता भएको हाे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार जहाजमा देखिएको समस्या समाधान गरी सो जहाज पुनः पोखरा गएको छ । उनले भने, ‘ककपिटमा स्मोक देखिएपछि जहाज फिर्ता भएको थियो । समस्या पहिचानपछि जहाज पुनः उडिसकेको छ ।’
जहाजमा मेजर समस्या नदेखिए पनि चालक दलले जोखिम नलिई जहाज फिर्ता गरेको बुद्ध एयरका अधिकारीले बताएका छन् ।
आजै बिहान काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको एउटा जहाज अवतरण गर्ने बेला पाङ्ग्रा नखुलेपछि काठमाडौंमै फिर्ता भएको थियो ।