काठमाडौं, साउन ८
वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्न दवाव दिँदै काठमाडौंको बसन्तपुरमा आईतबारबाट सुरु गरिएको सामूहिक नागरिक सत्याग्रहलाई निरन्तरता दिइएको छ ।
सोलिडारिटी फर डा. केसी अलायन्सको अगुवाईमा बसन्तपुरमा आईतबार विहान १० बजेदेखि सुरु गरिएको सामूहिक नागरिक सत्याग्रहलाई तेस्रो दिन मंगलबार पनि निरन्तरता दिइएको हो ।
डा. केसीको माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली गम्भिर नभएपछि दवावको कार्यक्रमलाई निरन्तरता दिइएको सत्याग्रहमा सहभागीहरुले बताएका छन ।
२५ दिनदेखि आमरण अनसनमा बसेका वरिष्ठ चिकित्सक केसीको माग सरकारले बेवास्ता गरेपछि आफूहरु सामूहिक नागरिक सत्याग्रहमा पनि सहभागी हुनु परेको उनका समर्थकहरुको भनाई छ ।
वरिष्ठ चिकित्सक केसीले चिकित्सा क्षेत्रको समग्र विकासका लागि लिएको अडान सही रहेको र उनको माग सम्बोधन गर्न ढिलाई नगर्न पनि सत्याग्रहमा सहभागी भएकाहरुले सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन ।