विराटनगर, साउन १८
बालिका बलात्कार गर्नेलाई मृत्युदण्डकोे सजायको ब्यवस्था गर्न प्रदेश १ का सांसदले माग गरेका छन । १ नम्बर प्रदेशसभाको बिहीबार बसेको बैठकमा बोल्दै सांसदहरुले घरेलु हिंसा अन्त्यका लागि कडा कानून aनिर्माण गर्नुपर्नेमा जोड दिएका हुन् ।
सामाजिक विकासमन्त्रालयले संसदमा पेश गरेको घरेलु हिंसाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद अम्बिका थापाले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डकोे सजाय हुनुपर्ने र त्यसका लागि संविधान संशोधन गर्नुपर्नेमा जोड दिइन् ।
सांसदहरुले संविधानलाई परिवर्तन गरेर भएपनि घरेलु हिंसा अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । विधेयकमाथि छलफलमा भाग लिँदै सांसद कुशुम श्रेष्ठले घरेलु हिंसा सँगसँगै हुने महिला तथा पुरुष हिंसाको अन्त्यका लागि कडा कानून निर्माण गर्नुपर्ने बताइन् ।
सांसद नारायण बुर्जा मगरले वैदेशिक रोजगारीमा गएका युवाहरु हिंसामा परेको बताए । विदेशको कमाई घरमा बसेर श्रीमतीले अन्यत्र लगानी गर्ने र सम्पत्ति कुम्ल्याएर अर्कैसँग हिंड्ने परिपाटी अन्त्य कसरी गर्ने भन्ने विषयमा पनि सोच्नु पर्ने मगरले बताए ।
यसअघि विधेयक संसदमा पेश गर्दै सामाजिक विकासमन्त्री जीवन घिमिरेले घरेलु हिंसा अन्त्यका लागि विधेयकमा सबै विषय समेटेर ल्याएको बताए । सामाजिक विकास मन्त्रालयले पहिलो पटक संसदमा विधेयक टेबल गरेको हो ।