प्रतिकूल मौसमका कारण दैनिक पचास प्रतिशत उडान रद्ध,अवतरण नगरेरै फर्किन्छन् जहाज

१९ साउन ७५, शनिबार
Share this
720shares

डोल्पा,साउन १९
केही दिनदेखि निरन्तरको वर्षाका कारण विभिन्न जिल्ला जोड्ने सडक यातायात तथा र हवाई उडान अवरुद्ध हुँदा हजारौँ यात्रु मर्कामा परेका छन् ।

Advertisement

झण्डै डेढ महिनादेखि नेपालगञ्ज विमानस्थलदेखि पहाडी जिल्लामा हुने ५० प्रतिशतभन्दा धेरै उडान रद्द हुने गरेको छ । निरन्तर वर्षा र बाग्लो हुस्सुका कारण पश्चिम भेगका हवाई उडान प्रभावित हुँदै आएको नेपालगञ्ज विमानस्थलका उपप्रमुख विष्णु अधिकारीले बताए ।

“अहिले नेपालगञ्ज विमानस्थलमा विभिन्न एयरलाइन्सका छवटा जहाज छन्, एउटा जहाजले दैनिक पाँचवटासम्म उडान भर्छन् तर आजभोलि मुश्किलले जम्मा १०÷१२ वटासम्म उडान हुन्छ” उनले भने । “हवाई उडान अनियमित हुनुमा बिग्रदो मौसम नै हो ।”

Advertisement

मौसमकै कारणले नेपालगञ्ज विमानस्थलदेखि उडान भइसकेका जहाजसमेत विमानस्थलमा अवतरण गर्न नसकेर फर्कने गरेको उनले बताए । आज मात्र जुम्ला, हुम्ला, मुगु, बाजुरालगायतका विमानस्थलमा केही उडान भएको नेपालगञ्ज विमानस्थलले जनाएको छ ।

दैनिक ५० प्रतिशतसम्म उडान रद्द हुने गरेपछि पश्चिमका सिमिकोट, जुफाल, जुम्ला, ताल्चालगायतका विमानस्थलमा यात्रु अलपत्र परेका छन् । विमानस्थलमा दैनिक यात्रु थपिने तर उडान भने नहुने भएपछि यात्रुको चाप बढ्दै गएको छ ।

Advertisement

राष्ट्रिय सडक सञ्जालको पहुँच पुग्न नसकेका डोल्पा र हुम्लाका विमानस्थलमा यात्रुको चाप दिन प्रतिदिन बढेको छ । जोखिमपूर्ण पैदलयात्राका कारण सर्वसाधारण जहाजबाटै गन्तव्यसम्म पुग्न खोज्ने गरेकाले डोल्पा र हुम्ला विमानस्थलमा यात्रुको चाप अन्य विमानस्थलको तुलनामा धेरै हुने गरेको हो ।

कर्णालीका विमानस्थलमा हवाई उडान अनियमित हुने गरेपछि हजारौँ यात्रु विमानस्थलमै अलपत्र परेका छन् । नेपालगञ्ज विमानस्थलदेखि जुम्ला, डोल्पा, हुम्ला, बझाङ, मुग र बाजुराका विमानस्थलमा उडान हुने गर्दछ । यस विमानस्थलबाट तारा, समिट, सीता, नेपाल एयरलाइन्सलगायतका निजी तथा सरकारी विमान कम्पनीले उडान भर्दै आएका छन् ।

अवतरण नगरेरै फर्किन्छन् जहाज

केही दिनयता प्रतिकूल मौसमका कारण नेपालगञ्जबाट उडिसकेका जहाज पनि अवतरण नगरेरै फर्कने गरेका छन् । आजभोलि जहाज उडान भए पनि उडान भएको केही समयभित्रै बाग्लो हुस्सुले हवाई रुट बन्द भएपछि पहाडी जिल्लाका विमानस्थल पुगेका जहाज पनि अवतरण नगरेरै बीचबाटै फर्किने गरेको विमान कम्पनीहरुले जनाएका छन् । साथै क्षणभरमै विमानस्थल पूरै हुस्सुले ढाक्ने गरेको छ ।

शुक्रबार बिहान मात्रै नेपालगञ्ज विमानस्थलदेखि कर्णालीका विभिन्न विमानस्थलका लागि उडेका तारा एयरको जहाज अवतरण गर्न नसकेरै फर्केका थिए ।

डोल्पामा यातायातको एकमात्र साधनको रुपमा रहेको जुफाल विमानस्थल पाँच दिनदेखि बन्द भएको छ । खराब मौसमका कारण दैनिक हवाई उडान अवरुद्ध हुने गरेपछि पाँच दिनदेखि एउटा पनि उडान हुन सकेको छैन ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top