गरिबीको पासोमा परेका अफगानी खुलेआम बेच्छन् सन्तान, एक बच्चाको मूल्य १ लाख रुपैयाँ

२४ कात्तिक ७८, बिहीबार

२५ कार्तिक, काठमाडौं ।

हेरात शहरबाहिर निस्किएपछि हामी भिडभाडयुक्त सडक छाडेर एउटा लामो र खाली राजमार्गमा प्रवेश ग¥यौँ। त्यहाँ हामीले तालिबानका दुई चौकी पार गर्दा उनीहरु बताइरहेका थिए कि अब अफगानिस्तानमाथि कसले राज गरिरहेको छ।

पहिलो चौकीमा भेटिएका युवक मिलनसार थिए। तर, उनले हाम्रो कार र अफगानिस्तानको संस्कृति मन्त्रालयबाट लिइएको अनुमतिपत्रको राम्रोसँग जाँच गरे। हामी जब त्यहाँबाट जान लाग्यौँ, काँधमा राइफल झुन्ड्याइरहेका व्यक्तिले मुस्कानसहित भने– ‘तालिबानसँग डराउनु पर्दैन। हामी राम्रा मान्छे हौँ।’

Advertisement

यद्यपि, दोस्रो चौकीमा पहरा दिइरहेका व्यक्ति केही अलग थिए, चिसा र केही खतरनाक पनि। यदि तपाईं अफगानिस्तान आउनुभयो भने कस्तो प्रकारको तालिबानसँग भेट हुन्छ भन्ने तपाईंलाई कुनै अनुमान नै हुँदैन। उसका केही लडाकुले विरोध प्रदर्शनको समाचार दिने अफगान पत्रकारलाई निर्घात कुटपिट गरेका थिए। हालैको एउटा अनलाइन भिडियोमा देखिएअनुसार एक विदेशी फोटोग्राफरलाई उनीहरु बन्दुकको कुन्दाले हिर्काइरहेका थिए।

हाम्रो लागि सबैभन्दा राम्रो कुरा चाहिँ हामीलाई चेक पोइन्टबाट छिटै छुटकारा मिल्यो। तर, चेतावनीजस्तै लाग्ने एउटा कुरा भनियो, ‘हाम्रोबारे राम्रो कुरा मात्र लेख्ने निश्चय गर।’

Advertisement

एउटा बच्चाको मूल्य १ लाख रुपैयाँ!

हेरात शहरभन्दा करिब १५ किलोमिटर टाढा माटो र इँटाले बनेका झुपडीको ठूलो बस्तीमा छौँ हामी। वर्षौँको युद्ध तथा सुक्खाका कारण विस्थापित भएर दूर–दराजको आफ्नो घर छाडेर मान्छेहरु यहाँ आएका छन्।

यहाँबाट नजिकको शहरमा काम पाउने आशाका कारण उनीहरुले लामो यात्रा तय गरेका हुन्। हामी जब आफ्नो कारबाट बाहिर निस्कियौँ, धुलोले झ्याप्पै छोप्यो। केही महिनामा नै अब चिसो बढ्नेवाला छ।

हामी त्यहाँ जानुको खास कारण थियो। के साँच्चै मान्छेहरु गरिबीकै कारण आफ्नो बच्चा बेचिरहेका छन् त? हामी यसको खोजीमा थियौँ। मैले जब पहिलो पटक यसबारे सुनेँ, मनैमनै सोचेँ– निश्चय नै यस्तो घटना एकाध होलान्। तर, हामीले जे पायौँ, त्यो सुन्नका लागि म तयार थिइनँ।

हामी त्यहाँ पुगेको थोरै समयमा एक व्यक्तिले हाम्रो टिमका एक सदस्यलाई सिधै सोधे कि के हामी उनको कुनै बच्चा किन्न चाहन्छौँ? उनी हामीसँग एक बच्चाको मूल्य ९०० डलर (उक्त दिनको सटही दरअनुसार १ लाख ४ हजार रुपैयाँ) मागिरहेका थिए। मेरो सहयोगीले उनी किन आफ्नो बच्चा बेच्न चाहन्छन् भनेर सोधे। ती व्यक्तिले बताए कि उनीसँग अरु आठ बच्चा छन् र तिनलाई खुवाउन उनीसँग खानेकुरा छैन।

बच्चा बेचेर खाना जुटाउने बाध्यता

हामी केही अगाडि बढ्नेबित्तिकै एक बच्चा लिएर एउटी महिला हाम्रो नजिक आइन्। उनी एकदमै डराएर कुरा गर्न थालिन्। हाम्रो अनुवादकले बताए कि ती महिलाले आफ्नो डेढ वर्षको सबैभन्दा सानो बच्चा पहिला नै बेचिसकेकी छिन्। किनभने उनलाई पैसाको एकदमै जरुरी थियो।

उनीसँग केही पनि सोध्न नपाउँदै हाम्रो वरिपरि भिड जम्मा भइसकेको थियो। त्यही भिडमा उपस्थित एक युवकले हामीलाई बताए कि उनकी १३ महिनाकी भान्जी पहिला नै बेचिसकिएको छ। ती बच्चीलाई घोर प्रान्तका एक धनाढ्यले निकै टाढाबाट आएर किनेर गए। बच्ची ठूली भएपछि उनको बिहे आफ्नो छोरासँग गरिदिने ती व्यक्तिले बताएको पनि उनले सुनाए।

तर, बेचिएका बच्चाको भविष्यबारे कसैले पनि निश्चित रुपमा बताउन सक्दैनन्।

एउटा घरमा हामीले ६ महिने बच्ची कोक्रोमा सुतिरहेको देख्यौँ। अनि, हामीले थाहा पायौँ कि उनी हिँड्न सक्ने भएपछि उनलाई किनेको मान्छेले लिएर जाने छ। उनको आमा–बुबाका तीन जना अरु बच्चा पनि छन्। यो परिवारले कयौँ दिन विनाभोजन भोकै बिताउनु परेको छ। ती बच्चाका बाबु कवाडी जम्मा पारेर गुजारा गर्छन्।

उनले हामीलाई भने– ‘अब धेरै दिन म केही पनि कमाउन सक्दिनँ। जब केही कमाइ हुन्छ, हामी ६ वा सात वटा ब्रेड किन्छौँ र आपसमा बाँडेर खान्छौँ। मेरी पत्नी छोरी बेच्ने मेरो फैसलासँग सहमत छैन। यसकारण तनावमा छु, तर म लाचार छु। बाँच्नका लागि अरु कुनै उपाय पनि छैन।’

म उनकी पत्नीको आँखा पनि बिर्सन सक्दिनँ। ती आँखामा क्रोध र लाचारी दुवै देखिन्थ्यो। बच्ची बेचेर आएको पैसाले उनलाई जिउँदै रहन सहयोग पुग्थ्यो। त्यो पैसाले बाँकी बच्चाको पनि खाना मिल्थ्यो, तर केही महिनाका लागि मात्र।

हामी जब त्यहाँबाट हिँड्न लाग्यौँ, अर्की एक महिला हाम्रो नजिक आइन्। पैसाको इशारा गर्दै उनले आफ्नो बच्चा सुम्पिन तयार रहेको बताइन्। बीबीसी हिन्दीबाट

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top