उपभोक्ता ठगी गर्ने ६ कम्पनीविरुद्ध मुद्दा दर्ता

२७ कात्तिक ७८, आइतबार

२८ कार्तिक, काठमाडौं ।

नेपाल गुणस्तर तथा नापतौल कार्यालयले उपभोक्ता ठगी गर्ने छ कम्पनीविरुद्ध मुद्दा दर्ता गरेको छ।

कार्यालयले चालू आर्थिक वर्षमा उपभोक्ता ठगी गर्ने मूलपानीस्थित जी एण्ड जी हार्डवेयर, कालीमाटीस्थित एच आर ट्रेड लिङ्क, नुवाकोटस्थित वनदेवी आयल स्टोर्स, बालाजुस्थित राजेश हार्डवेर र दुईवटा ट्याक्सी चालकविरुद्ध मुद्दा दर्ता गरेको हो।

Advertisement

कार्यालयका सूचना अधिकारी निराजन पुडासैनीले चालू आर्थिक वर्षमा चार एकल अनुगमन तथा १२ संयुक्त अनुगमनका क्रममा ठगी गर्ने छ कम्पनीविरुद्ध मुद्दा दायर गरिएकोे जानकारी दिए। कार्यालयले चालू आर्थिक वर्षमा ६८ फर्ममा एकल तथा संयुक्त अनुगमन गरेको थियो ।

जी एण्ड जी हार्डवेयरले तौलने यन्त्रको जाँच अनुमति नलिएको र त्यहाँबाट बिक्रिवितरण हुँदै आएको ओम सिमेन्ट नापजाँचका क्रममा घटी पाइएकाले एक वर्ष कैद र रु १० हजार जरिवना माग गर्दै मुद्दा दायर गरिएको जनाइएको छ।

Advertisement

एच आर ट्रेड लिङ्कले चामलका ८० बोरा नापजाँचका क्रममा औषत तौलमा घटी भएको र तौलने यन्त्र जाँच अनुमति नलिएको भन्दै एक वर्ष कैद सजाय र रु १० हजार जरिवनाको माग गर्दै मुद्दा दायर गरिएको कार्यालयले जनाएको छ।

यस्तै वनदेवी आयल स्टोर्सले पेट्रोल तथा डिजेल पम्पमा लगाएको सिल छिनाएकाले तीन वर्ष कैद सजाय र रु ३० हजार जरिवना, राजेश हार्डवेयरले घटी तौल गरेर सामान बिक्री गरेकाले एक वर्ष कैद र रु १० हजार जरिवनाको माग मुद्दा दायर गरिएको सूचना अधिकारी पुडासैनीले बताए। राजेश हार्डवेयरलाई वाणिज्य विभागले यसअघि नै रु दुई लाख जरिवना गरेको थियो।

यसैगरी बा १ ज ८८८१ नं को ट्याक्सीको बिग्रेको मिटर जानीजानी सञ्चालन गरेकाले त्यसका चालकलाई तीन वर्ष कैद र रु ३० हजार जरिवना तथा बा १ ज ४४७९ नं को ट्याक्सीले दिउँसोको समयमा डेडी भाडा लिएकाले त्यसका चालकलाई तीन वर्ष कैद र रु ३० हजार जरिवाना माग गर्दै मुद्दा दर्ता गरिएको जनाइएको छ। राति ९ बजेदेखि बिहान ६ बजेसम्म मात्र डेडी भाडा लिन पाइन्छ।

उक्त कार्यालयले दसैँका बेला बजार अनुगमन गर्दा चार कम्पनीले ठगी गरेको जनाएको छ। सूर्यविनायकस्थित चम्पकेश्वर हार्डवेर, भक्तपुरस्थित सेल्सवेरी, भक्तपुरस्थित चण्डेश्वरी डेरी एण्ड स्वीट हाउस र डेली ग्रोसरीले ठगी गरेकाले ती कम्पनीविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेको सूचना अधिकारी पुडासैनीले जानकारी दिए।

कार्यालयका प्रमुख मनिषकुमार दासले जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले कार्यालयले कारबाहीस्वरुप मुद्दा दायर गरेको बताए। ‘आम उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याउछौँ,’ उनले भने। सो कार्यालयले चालू आर्थिक वर्षको भदौ असोज महिनामा जरिवानाबाट रु ४४ लाख २२ हजार १८३ राजस्वसमेत सङ्कलन गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top