विराटनगर,साउन २३
सुनसरीको चतरा नहर स्थित झुम्का कारागार अगाडि नहरमा डुबेर एकै घरका दिदीभाइको मुत्यु भएको छ । मंगलबार दिउँसो १२ बजे ११ बर्षकी सृजना खड्का र उनका भाइ ९ बर्षका अस्विन खड्काको नहरमा डुबेर ज्यान गएको हो ।
खाना खाएको भाडा माज्ने क्रममा नहरमा दिदीभाई डुबेका थिए । नहरमा डुबेका दिदीभाइको ५ घण्टा पछि शव बाहिर निकालिएको थियो । नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले नहरको पानी कटान गरी शव बाहिर निकालेको हो ।
खाना खाएर भाडा माझ्न गएका अस्विन पानीले थाल बगाए पछि थाल लिन नहरमा पसेका थिए । भाइ नहरको पानीमा डुवेको देखेपछि उनकी दिदी सृजना पनि भाइलाई लिन जाँदा नहरमा डुबेको स्थानीय मिना खातुनले बताईन् ।
झुम्का नहरको डिलमा सुनसरी मोरगं सिंचाई आयोजनाको जग्गामा खड्का परिवार बस्दै आएका थिए । मृतक बालबालिकाकी आमाले भने केही महिना अघि मात्रै दोस्रो विवाह गरेकी थिइन । उनीहरु आमा नभए पनि बुबा र हजुर आमासँग बस्दै आएका थिए ।