१९ मंसिर, काठमाडाैँ ।
राष्ट्रिय बाघ गणना २०२२ चितवनबाट सुुरु भएको छ । चितवनको सौराहामा एक कार्यक्रमको बिच वन तथा वातावरणमन्त्री मन्त्री रामसहायप्रसाद यादवले बाघ गणनाको लागि जडान हुने क्यामरा अन गरेर राष्ट्रिय बाघ सर्वेक्षण २०२२ सुरु गरेका छन् ।
बाघ सर्वेक्षण उद्घाटन गर्दै मन्त्री यादवले सन् २०२२ भित्र नेपालमा बाघको संख्या दोब्बर बनाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता सहजै पूरा हुने बताएका छन् । नेपालले सन् २०१० मा रसियाको सेन्टपिटर्सबर्गमा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो । सन् २०१८ मा बाघको संख्या २ सय ३५ रहेकोले अब १५ वटा मात्रै बाघको संख्या बढे प्रतिबद्धता पुरा हुने भन्दै मन्त्री यादवले बाघको संख्या २५० पुग्नेमा विश्वस्त रहेको बताए ।
नेपालको तर्फबाट तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाउनु भएको थियो । सन् २००९ मा नेपालमा १२१ वटा बाघ रहेको अनुमान गरिएको थियो । प्रतिबद्धताअनुसार सन् २०२२ मा बाघको संख्या २५० पुग्नुपर्ने हुन्छ । बाघको बासस्थान विस्तार गरेको ,बाघको आहार प्रजाती बढाइको , वन्यजन्तुको संरक्षणको आम जनताको सहयोग , सुरक्षको लागि नेपाली सेना निकुञ्ज र आरक्ष क्षेत्रमा खटिएको लगायतको कारणले बाघको संख्या नेपालमा बढ्दै गएको वन तथा वातावरण मन्त्रालयका सचिव डा.पेम नारायण कंडेलले बताए।
बाघ सर्वेक्षणमा नेपाल सरकार , डब्लुडब्लुएफ नेपाल, जेडएसएल नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट आर्थिक तथा प्राविधिक सहयोग रहेको छ । बाघ सर्वेक्षण २०२२ को लागि करिब ३ करोड ७० लाख खर्च हुने अनुमान गरिएको छ ।