२० मंसिर, एजेन्सी ।
भारतीय चलचित्र उद्योग बलिउडकी चर्चित अभिनेत्री ज्याकलिन फर्नान्डेज मुम्बई एयरपोर्टबाट पक्राउ परेकी छन् । एक शोका लागि दुबई जान लागेकी अभिनेत्री फर्नान्डेज मनी लान्ड्रिङ मुद्दामा आइतबार विमानस्थलबाटै पक्राउ परेकी हुन् ।
भारतको प्रवर्तन निर्देशालयले सो मुद्दामा उनीविरूद्ध लुक आउट नोटिस जारी गरेपछि उनलाई प्रहरीले मुम्बई विमानस्थलबाटै नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रवर्तन निर्देशनालयले सुकेश चन्द्रशेखर, उनकी पत्नी लीना मारिया पल र अन्य ६ जनाविरुद्ध २०० करोड रुपैयाँको मनी लान्ड्रिङ मुद्दामा ७ हजार पृष्ठको आरोपपत्र दायर गरेको छ ।
अनुसन्धानको क्रममा केन्द्रीय एजेन्सीले सुकेश र अभिनेत्री ज्याकलिन फर्नान्डेजबीच आर्थिक लेनदेनको प्रमाण फेला पारेको थियो । प्रहरीका अनुसार सुकेशले ज्याकलिनलाई १० करोडभन्दा बढीको महंगो उपहार दिएका थिए । महंगो उपहारमा गहना, हिराका गहना सेट, क्रोकरी, एउटा बिरालाको मात्र करिब ९ लाख रूपैयाँ पर्ने ४ पर्सियन बिरालो, यस्तै ५२ लाख रूपैयाँको घोडा समावेश छ । सुकेशले ज्याकलिनका दाजुभाइलाई पनि मोटो रकम पठाएका थिए । प्रहरीले उनलाई अनुसन्धान चलिरहेकाले विदेश जान रोकिएको बताएको छ ।
यस्तै प्रवर्तन निर्देशनालयले ज्याकलिनका नजिकका साथी र कर्मचारीसँग पनि सोधपुछ गरेको छ । चर्चित डान्सर तनोरा फतेहीलाई सुकेश चन्द्रशेखरले बीएमडब्लू कार र आइफोन उपहार दिएका थिए । यसको कुल लागत एक करोड रुपैयाँभन्दा बढी थियो। उनलाईपनि प्रहरीले नोटिस पठाएको भारतीय संचारमाध्यामले जनाएका छन् ।
ज्याकलिन फर्नान्डेज श्रीलङ्काली अभिनेत्री हुन् । जो पूर्व मोडल, र सन् २००६ को मिस युनिभर्स श्रीलङ्का प्रतियोगिताको विजेता पनि रहिसकेकी छिन् । उनी मुख्यतया बलिउडमा काम गर्छिन् । सन् २००९ मा, उनले अलादिन चलचित्रबाट बलिउडमा डेब्यु गरेकी थिइन् र त्यसपछि बलिउड उद्योगमा करियर स्थापना गरेकी छिन् । क्यानडेली, श्रीलङ्काली र मलेसियाली मूलको बहुजातीय परिवारमा जन्मेकी, फर्नान्डिज बहराइनमा हुर्केकी थिइन् । सिड्नी विश्वविद्यालयबाट आमसञ्चारमा स्नातक गरेपछि र श्रीलङ्कामा टेलिभिजन रिपोर्टरको रूपमा काम गरिसकेपछि, उनी मोडलिङ उद्योगमा प्रवेश गरेकी थिइन् ।