२३ मंसिर, काठमाडाैँ ।
हेलिकप्टर दुर्घटनामा बुधबार मृत्यु भएका भारतका पहिलो चिफ अफ डिसेन्स (सीडीएस) विपिन रावत तमिलनाडुको विलिंटनस्थित स्टाफ कलेजमा तालिम लिइरहेका अधिकृतहरुलाई सम्बोधन गर्न त्यसतर्फ गएका थिए । खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना भएको बताइएको छ । सेनाले दुर्घटनाको कारण पत्ता लगाउन छानबिन गर्न आदेश दिएको छ ।
रावत भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ समेत हुन् । उनलाई गत जनवरीमा उक्त पदमा नियुक्त गरिएको थियो । उनी भारतिय थल सेनाको २७ औं सेनाअध्यक्ष हुन । रावतको सत्तारुढ दल विजेपीसंग नजिकको सम्बन्ध थियो । जनरल रावतले यसअघि सेनाअध्यक्ष हुंदा नेपालको भ्रमण समेत गरेका थिए । रावत नेपाललाई निकै माया गर्ने भारतिय सैनिक अधिकारीका रुपमा चिनिन्छन् । उनी सेनामा हुंदा गोर्खा राइफल कमाण्डको कमाण्डर समेत थिए ।
रावत नेपालसंग सिमा जोडिएको उत्तराखण्ड राज्यको पउरीमा जन्मिएका हुन् । उनका बुवा लक्ष्मणसिंह रावत समेत भारतिय सेनाको तीन तारे जनरल थिए । रावत नेपाली सेनाका पूर्व मानार्थ महारथी समेत हुन्। उनी ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९ सम्म भारतको सेना प्रमुख थिए। यही अवधिमा २६ चैत २०७३ मा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मनार्थ महारथीको सम्मान प्रदान गरेकी थिइन्। नेपाल र भारतले एकअर्काको देशका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान प्रदान गर्ने चलन छ। ०७४ सालमा सेना दिवसका दिन रावत अतिथीका रुपमा नेपाल आएका थिए। पछिल्लो समय, कात्तिक २०७७ मा भारतीय सेना प्रमुख (वर्तमान) जनरल मनोज मुकुन्द नरवाणेले राष्ट्रपति भण्डारीबाट नेपालको मानार्थ महारथीको सम्मान लिएका छन्। सेना प्रमुखबाट अवकाश लिएपछि ३१ डिसेम्बर २०१९ मा रावत भारतको पहिलो चिफ अफ डिसेन्स (सीडीएस) नियुक्त भएका थिए।
स्थल सेना, जल सेना र हवाई सेनालाई संयोजित गर्ने उद्देश्यले सिडिएस पद सिर्जना गरिएको हो। भारतीय सेनाको बर्दी लगाउनेमध्ये सिडिएस रावत सबैभन्दा माथिल्लो वरियताका अधिकारी थिए। उनले रक्षा मन्त्रालयको सैन्य सल्लाहकार र सैन्य मामिला विभागको प्रमुखको भूमिका समेत निर्वाह गर्दै आएका थिए। बुधबार रावत चढेको सैनिक हेलिकोप्टर तमिलनाडुमा दुर्घटना भएको हो। यस हेलिकोप्टरमा रावतकी पत्नी मघुलिकासहित १४ जना सवार थिए। त्यसमध्ये १३ जनाको मृत्यु भएको बताइएको छ। ६३ वर्षीय रावतका दुई छोरीहरु छन्। यसैबीच हेलिकप्टर दुर्घटनामा बुधबार ज्यान गुमाएका भारतका चिफ अफ डिफेन्स स्टाफ–सीडीएस जनरल विपिन रावतप्रति नेपाली सेनाले दुख व्यक्त गरेको छ
। सेनाका अनुसार प्रधान सेनापति प्रभुराम शर्माले बुधबार साँझ नै फोन र पत्रमार्फत घटनाबाट आफु स्तब्ध भएको र नेपाली सेनाले एक सच्चा मित्र गुमाएको बताएका थिए। त्यसक्रममा प्रधान सेनापति शर्माले रावतको निधनले भारतीय सेनामा अपूरणीय क्षति भएको बताएका थिए। रावतले गएको पुषमा नेपालको बारेमा एक अर्थपूर्ण अभिव्यक्ति दिएका थिए । उनले चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) तर्फ संकेत गर्दै नेपाल कुनै पनि अभ्यास र छनौट गर्न स्वतन्त्र छ, तर नेपाल एकदमै सतर्क रहनुपर्छ र केही अनुभव श्रीलंकाबाट सिक्नुपर्छ जसले यस क्षेत्रका अन्य केही अन्तर्राष्ट्रिय मुलुकसँग केही सहमति गर्नु परेको बताएका थिए । श्रीलंकाले बिआरआई मार्फत चीनसँग ऋण लिएर विकास परियोजनाहरु सन्चालन गरिरहेको तर चीनको ऋण समयमा नै तिर्न नसक्दा हामवानतोता पोर्ट एक चिनियाँ कम्पनीलाई ९९ वर्षका लागि लिजमा दिइएको उनले उल्लेख गरेका थिए । उनले भारतीय सेनामा रहदा चीन से लगी वास्तविक नियंत्रण रेखा पर इंफैंट्री बटालियन के प्रमुख भएर पनि काम गरेका थिए ।
कंगोमा संयुक्त राष्ट्र संघको शांति मिशनको नेतृत्व गरिसकेका रावतको नेतृत्वमा भारतीय सेनाले पनि धेरै अपरेशनहरू गरेको थियो । उनले पूर्वोत्तरमा आतंकवादलाई कम गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए । मणिपुरमा भएको आतंकवादी हमलाविरुद्धको अपरेशन र बहुचर्चित भारतीय सेनाले पाकिस्तानमा गरेको सर्जिकल स्ट्राइकको नेतृत्व उनकै कमाण्डमा भएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।
