२३ मंसिर, एजेन्सी ।
कोरोनाको नयाँ भेरियन्टका कारण अब भारतका सर्वसाधारण जनताले असुविधाको सामना गर्नुपर्ने भएको छ । भारत सरकारले कोरोनाको ओमिक्रोन भेरियन्टलाई ध्यानमा राख्दै नियमित अन्तर्राष्ट्रिय व्यावसायिक यात्रुवाहक विमानको उडान ३१ जनवरीसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
यसअघि भारत सरकारले १५ डिसेम्बरदेखि सबै अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो । नागरिक उड्डयन महानिर्देशनालयले जारी गरेको आदेशमा अब यी उडानहरू जनवरी ३१ गतेसम्मका लागि स्थगन गर्ने भनिएको छ । यो प्रतिबन्ध अन्तर्राष्ट्रिय कार्गो उडानहरू र भारतीय नागरिक उडड्न मन्त्रालयद्वारा स्वीकृत अन्तर्राष्ट्रिय उडानहरूको लागि लागू हुनेछैन।
यद्यपि भारतीय नागरिक उडड्नले केहि अन्तर्राष्ट्रिय व्यावसायिक यात्री विमानको उडानलाई भने विशेष परिस्थितिमा अनुमति दिन सकिने स्पष्ट गरेको छ । भारतको ३० भन्दा बढी देशहरूसँग हवाई बबल सम्झौता पनि छ, जसअन्तर्गत धेरै देशहरूमा उडानहरू जारी छन्। नेपालमा पनि हवाई बबल सम्झौता अनुशार भारतमा उडान हुदै आएको छ ।
