चार्टर्ड विमानबाट स्वदेश फर्किंदै माओवादी नेता पुन

चार्टर्ड विमानबाट स्वदेश फर्किंदै माओवादी नेता पुन

१० माघ, विराटनगर ।
चीनमा स्वास्थ्य उपचार गराएर नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन आज स्वदेश फर्किंने भएका छन् ।

पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ आज बेलुका चार्टर्ड विमानमार्फत पुन नेपाल आउन लागेको उनको पारिवारिक स्रोतले जनाएको छ ।

सुरुमा बैंकक र त्यसपछि चीनमा उपचार गराएका पुनले पूर्ण स्वास्थ्यलाभ गरी स्वदेश फर्किंन लागेको जानकारी सामाजिक सञ्जालमार्फत् दिएका छन् ।

‘बैंकक र चीनको लामो उपचारपछि माघ १० गते पूर्ण स्वास्थ्यलाभ गरेर नेपाल फर्किंदै छु’, पुनले फेसबुकमार्फत जानकारी दिएका छन् ।

नेता पुनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार भएको थियो । काठमाडौंमा उपचार सम्भव नभएपछि उनी माओवादी अध्यक्ष प्रचण्डको सल्लाहमा सुरुमा बैंकक र त्यसपछि चीन उपचारका लागि गएका थिए ।

पुन माओवादी केन्द्रमा महासचिवको दाबेदार छन् । माओवादीले अहिलेसम्म पदाधिकारी चयन गरेको छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.