साउदीमा नेपालीले नै नेपालीलाई ठग्ने क्रम बढ्दो, सचेत रहन दूतावासको अनुरोध

साउदीमा नेपालीले नै नेपालीलाई ठग्ने क्रम बढ्दो, सचेत रहन दूतावासको अनुरोध

१२ माघ, काठमाडौँ । साउदीमा कार्यरत नेपालीलाई भइरहेको काम छाडेर राम्रो रोजगारी पाइने प्रलोभनमा नपर्न साउदीमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

दूतावासमा साउदीमा रहेका नेपालीले नै विभिन्न परिचय र टेलिफोन नम्बरबाट फोन गरी राम्रो जागिर लगाइदिने प्रलोभन देखाउँदै ठग्ने गरेको गुनासो प्राप्त भएको भन्दै दूतावासले यस्तो ठगीबाट बच्न अनुरोध गरेको हो ।

भर्खरै इकामा बनाएका श्रमिकलाई खाइपाइ आएको तलब र सुविधाभन्दा बढी दिने काम लगाइदिने बहाना बनाउने र रोजगारी छोड्न लगाइ गैर कानुनी हिसाबले काममा लगाउने गरेको पाइएको दूतावासले जनाएको छ ।

साउदीमा कम्पनी छाडेर भाग्नु गैर कानुनी र अनैतिक मानिन्छ भने यसरी काम गरिरहेका श्रमिकलाई भगाउनु अपराध हो ।

दूतावासका अनुसार यसरी गरिरहेको काम छाडेर भाग्दा साउदीका रोजगारदाताले नेपाली श्रमिकलाई शङ्काको दृष्टिकोणले हेर्ने र उनीहरूप्रति अविश्वास बढ्दै गएको छ ।

एउटा कम्पनीको इकामा लिएर भाग्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र कामदारलाई सचेत गराउन दूतावासमा साउदीका अधिकारीहरूले अनुरोधसमेत गरेका छन् ।

यसरी मानव तस्करीका रूपमा रहेको कामदार भगाउनेहरूको खोजी गरिरहेको भन्दै यस्तो कार्य नगर्न र नगराउन दूतावासले सबैलाई सचेत गराएको छ ।

साउदीमा गैर कानुनी हैसियतमा रहेका व्यक्ति बिरामी भएर उपचार गर्नुपर्दा अस्पताल छिर्न नपाउने, दुर्घटना भएर घाइते वा अङ्गभङ्ग भएमा त्यसको उपचार र क्षतिपूर्तिसमेत पाइँदैन । गैर कानुनी रूपमा रहेका श्रमिकको कुनै कारणबाट ज्यान गएमा शव नेपाल ल्याउने जिम्मासमेत कसैले नलिने हुँदा शव ल्याउन समेत समस्या पर्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.